Logo
Logo
स्वकीय सचिव मृत्यु प्रकरण

विपक्षी दलले मागे सहकारी मन्त्रीको राजीनामा


2.6k
Shares

काठमाडौं । बागमती प्रदेशसभाका विपक्षी दलहरुले सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको राजीनामा माग गरेका छन् ।

मन्त्रीका स्वकीय सचिव रवि थापा निधनबारे निष्पक्ष छानबिन गरिनुपर्ने भन्दै प्रदेशसभाका विपक्षी दलहरू माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा माग गरेका हुन् ।

उनीहरुले घटनाको निष्पक्ष छानबिनका लागि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग गरेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको उल्लेख गरिए पनि ‘सुसाइड नोट’ र अडिओ रेकर्डमा मन्त्री श्रेष्ठसहित अन्य केही व्यक्तिको नाम रहेकाले तिनलाई पनि छानबिनको दायरामा ल्याउन उनीहरूले माग गरेका छन् ।


विज्ञप्तीमा भनिएको छ, ‘मृतक रवि थापाको अकल्पनीय मृत्युपछि प्रहरीले फेला पारेको सुसाइड नोट भनिएको पत्र तथा सहकारीसम्बन्धी मृतक रविको बाहिरिएको अडिओ रेकर्डमा मन्त्री मदुकुमार श्रेष्ठलगायत नेताहरूको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आशयका समाचार आदिले घटनालाई रहस्यमय बनाएको छ। हामी यस घटनाको निष्पक्ष छानबिनका लागि सहज वातावरण निर्माण गर्न मा. मन्त्री मदुकुमार श्रेष्ठको राजीनामा माग गर्दछौँ।’

छानबिन प्रक्रिया स्वतन्त्र र निष्पक्ष बनाउन मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनीहरूको जिकिर छ । धादिङको धुनिबेँसी नगरपालिका–९, निवासी सहकारी मन्त्रीका स्वकीय सचिव ३६ वर्षीय रवि थापा विष पिएको अवस्थामा मृत भेटिएका थिए ।

उनको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको थियो । ललितपुरमा रहेको सुमेरु सेभिङ सहकारीका गिरोहले आफूलाई मर्न बाध्य बनाएको उल्लेख गरिएको सुसाइड नोट थापाको साथमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्