Logo
Logo

जागरण अभियानमा नारायणकाजी: झापामा झोक्किए, चितवनमा पछुताए, सुनसरीमा जोडिए


3.5k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले महत्वका साथ प्रचार गरेको ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ यही फागुन १२ गते झापाबाट सुरु भयो । 

अभियानमा अध्यक्ष प्रचण्डसहित नेताहरू वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, नेताहरू पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत सहभागी  भए ।  प्रचण्डले उक्त अभियान झापाको कचनकवलबाट उद्घाटन गरे ।

त्यस क्रममा नेपालकै होचो भूभाग केचनकवलमा राष्ट्रिय झन्डा फहराए । पर्यटकीय रूपमा उच्च सम्भावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि प्रचण्डले अपिल गरे ।

अभियान उद्घाटनकै क्रममा प्रचण्डले नेताद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई अँगालो हालेको दृश्य चर्चाको विषय बन्यो । यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मञ्चमा देखाएको असन्तुष्टिले पनि तरङ्ग ल्यायो । 

प्रचण्डले शर्मा र पुनलाई सार्वजनिक रूपमा अँगालो हालेर पार्टी भित्रको शक्ति सन्तुलनको नयाँ समीकरण संकेत गरेका छन् । पार्टीभित्र शर्मा र पुन पार्टीभित्र प्रतिस्पर्धी मानिन्छन् । दुवै नेतालाई सन्तुलनमा राख्न प्रचण्डलाई बेलाबेला संकट पर्ने गरेको छ । 

कार्यक्रममा नारायणकाजी श्रेष्ठले आफूलाई कम बोल्न दिने प्रयास गरेको भन्दै झोकिएर बोल्दा बोल्दै छोडेर हिँडे । श्रेष्ठले मन्तव्य राखिरहँदा झापाका माओवादी संयोजक आचार्य छेउमा पुगेका थिए । त्यसै क्रममा श्रेष्ठले, ‘मैले सक्नु पर्ने भयो ?’ भन्दै रिसाएका थिए । आचार्यले होइन होइन भन्दा पनि उनले आफ्नो मन्तव्य नराखी हिँडेका थिए । 

त्यसपछि उनको आलोचना हुन थाल्यो ।  सार्वजनिक कार्यक्रममा श्रेष्ठले देखाएको व्यवहार अनौठो रहेको भन्दै चलेका विभिन्न तर्ककाबीच उनले पछुतो लागेको भन्न थालेका छन् । उनी आफैले पनि यो विषय स्वीकार गरेका छन् ।

मंगलबार चितवनमा पत्रकार सम्मेलनमा झापाको कार्यक्रममा आफूले मनोवैज्ञानिक अवरोध उत्पन्न भएको महसुस गर्दा रिसाउन पुगेको उनको स्पष्टीकरण छ । उनले भने, ‘मैले बोल्न मात्र सुरुवात के गरेको थिएँ अलिकति त्यहाँ मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो । अनि त्यसपछि त्यसलाई अलिकति बिझाएजस्तो महसुस गरेँ ।’

उनले माफी मागे पनि माओवादी नेता कार्यकर्ताहरूले भने आलोचना गर्न छाडेका छैनन् ।  श्रेष्ठ बिहीबार सुनसरीको बर्जु गाउँपालिकाको शुक्रबारे चोकमा आयोजित सभामा सहभागी  समेत भएका छन् । 

माओवादी केन्द्रका शीर्ष नेताहरू जनतासँग जोडिने भन्दै केराको पातमा भोजन गरिरहेका छन् । बाटोमा भेटिनेसँग संवाद गर्ने र जनताको घरमा जे पाक्छ त्यो खाने भन्दै जागरण अभियानमा होमिएका नेताहरूले जनतामा जागरण ल्याउलान् ? शङ्का कायमै छ । 

जनतामा जागरण ल्याउने भनेका उनीहरूले देखाएको व्यवहार र सार्वजनिक कार्यक्रमको स्थितिले पनि अवस्था ठिक बन्दैन कि भन्ने शङ्का, चासो र चर्चा देखिन्छ । उसो तः माओवादीलाई फेरि जनतामा लैजाने दाबीसहित गरिएको जागरण सभाको पहिलो दिनमै देखिएको मतभेदले यो अभियानले सफलता प्राप्त गर्ला ? जनार्दन वर्षमानलाई अंगालो हालेका प्रचण्डले फेरि नारायणकाजी श्रेष्ठको समूहलाई सम्हाल्नुपर्ने स्थितिले जनतामा आशा सञ्चार गर्न सक्लान् ? तमाम प्रश्न र चासो देखिन थालेको छ । 

सार्वजनिक रुपमा देखिएको विवादमा प्रचण्डले भने बाहिर देखिएजस्तो मतभेद र विवाद नभएको भन्दै पार्टी गतिशील बनिरहेको दाबी गरेका छन् । 

तर, पुर्वको झापामा कमजोर जनमतसहित उभिएको माओवादीले गर्न खोजेको जागरणसभालाई प्रभावकारी बनाउँदै नेताहरूले एकताको सन्देश दिनुपर्नेमा देखाएको व्यवहारले विवाद र अभियानमाथिका प्रश्न थप पेचिला बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्