धनुषा । विवाहेत्तर प्रेम सम्बन्ध लुकाउन श्रीमान्सँग मिलेर प्रेमीलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा महिला पक्राउ परेका छन् । मिथिला बिहारी–६ सिरसियाकी २४ वर्षीया अनिता कुमारी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
गत मंसिर २७ गते कमला नगरपालिका–६ सिग्याही मडानका ३३ वर्षीय शाहिद अन्सारीको हत्या भएको थियो । उनको शव भने पुस ४ गते जनकपुर–धनुषाधाम सडकखण्डअन्तर्गत खैरा खोलाको पुलमुनि भेटिएको थियो ।

प्रहरी अनुसन्धानअनुसार अन्सारीको हत्या उनकी प्रेमिका अनिता र उनका श्रीमान् राजकिशोर यादवले मिलेर गरेका हुन् ।
पक्राउ परेकी अनितालाई धनुषा जिल्ला अदालतबाट म्याद थप गराएर थप अनुसन्धान भइरहेको छ ।
अन्सारी हत्याका अर्का आरोपित अनिताको श्रीमान् राजकिशोर यादव हत्यापछि वैदेशिक रोजगारीका लागि साउदी पुगेका छन् । उनलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
अन्सारीको हत्या गर्ने योजनाका साथ २०८१ मंसिर १५ गते राजकिशोर साउदीबाट नेपाल आएका थिए । अन्सारी भने मंसिर २६ गते कतारबाट नेपाल फर्केका थिए । कतारमा कार्यरत अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो ।
अनिताले अन्सारीको ‘श्रीमती बिरामी रहेको’ बहाना बनाएर उनलाई नेपाल बोलाएकी थिइन् । अनिताले नै अन्सारीकी श्रीमती बिरामी रहेको मेडिकल रिपोर्ट तयार पारी साउदी पठाएकी थिइन् ।
नेपाल फर्केका अन्सरी घर नगई प्रेमिका भेट्न मिथिला बिहारी–६ सिर्सिया पुगेका थिए । अन्सारीलाई घरमै बन्धक बनाएर मंसिर २७ गते दिउँसो ११ बजे सुत्ने कोठामा बन्चरो प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनिताले श्रीमान्सँग पहिले नै हत्या गर्ने योजना बनाएकी थिइन् । त्यही रिपोर्टका आधारमा अन्सारी आकस्मिक छुट्टी लिई नेपाल फर्किएका थिए । घर पुग्न नपाउँदै उनको हत्या भएको थियो ।