काठमाडौं। पर्सामा तास खेल्ने विषयमा विवाद हुँदा तीन किशोर मिलेर एक जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
तास खेलेको समयमा रकम सापटी नदिएको भन्दै विवाद भएको र त्यही निहुँमा एक युवकको हत्या भएको प्रहरीको भनाइ छ । हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार घटनाबारे जानकारी गराएको छ ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीका १९ वर्षीय मुकेशप्रसाद यादव, सोही ठाउँका १९ वर्षकै अरुणकुमार यादव र सोही ठाउँका १९ वर्षकै मुना तिवारी छन् ।
उनीहरु तीनै जनालाई ११ फागुनमा पक्राउ गरेर आज बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुले सोही ठाउँका १९ वर्षीय इशालप्रसाद कुर्मीको हत्या गरेको आरोप छ ।
७ फागुनमा वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीका १९ वर्षीय इशालप्रसाद कुर्मी वीरगञ्ज बजार जान्छु भनेर निस्केका थिए । तर छोरा घर नफर्केपछि उनका बाबु जोगिन्द्रप्रसादले भोलिपल्ट ८ फागुनमा खोजतलासका लागि भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
हराएको भनिएको ४ दिनपछि ११ फागुनमा स्थानीय भेडैया खोलामा एक युवकको शव तैरिरहेको भन्दै प्रहरीलाई सूचना आएको थियो ।
उक्त शव ७ गतेदेखि हराएका उनै इशालप्रसादको रहेको भन्दै उनका बाबुले सनाखत गरेका थिए । बजार जान्छु भनेर निस्केका इशालप्रसादको हत्या भएको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
घटनास्थलबाट प्रहरीले मृतकको पर्स, साइकल, चप्पल, मोबाइल फोनको टेम्पर ग्लास गरेको थियो । यीनै बरामद वस्तुहरुलाई केन्द्रमा राखेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो ।
पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।