Logo
Logo

कांग्रेस चन्दाको भरमा, एमाले कसरी बन्यो सबैभन्दा धनी पार्टी ?


11k
Shares

काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । निर्वाचन आगोमा बुझाइएको लेखा परीक्षणअनुसार ठूला चार दलमध्ये नेकपा एमाले सबैभन्दा धनी देखिएको छ भने अन्य तीन दल घाटामा छन् ।

दलहरुको आम्दानी र खर्चको विवरण हेर्दा संसद्को पहिलो दल नेपाली कांग्रेस, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी घाटामा देखिन्छन् ।

एमालेले गत आर्थिक वर्ष (२०८०/८१)मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । उसले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको छ । यस हिसाबले एमालेसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत छ ।

एमालेले अघिल्लो वर्ष ११ करोड ६० लाख खर्च गर्दा २ करोड ११ लाख घाटामा गएको थियो । एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो । एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरुबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ ।

कांग्रेस चन्दाको भरमा
एमालेले आम्दानी बढाउँदै खर्च घटाउँदा संसद्को ठूलो दल नेपाली कांग्रेस भने घाटामा देखिएको छ । कांग्रेसले आर्थिक वर्ष २०८०÷८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ । तर खर्च भने ४ करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ छ । यो हिसाबले कांग्रेस अहिले २ करोड ३२ लाख ४७ हजार ६ सय रुपैयाँले घाटामा छ । कांग्रेसले अघिल्लो वर्ष पनि घाटामा रहेको विवरण निर्वाचन आयोगमा पेश गरेको थियो । आर्थिक वर्ष ०७९÷०८० मा कांग्रेसले ३ करोड ६४ लाख आम्दानी गरेको थियो । त्यतिबेला उसले आम्दानीभन्दा दोब्बर बढी अर्थात झन्डै ८ करोड खर्च गरेको थियो ।

कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा हो । चन्दाबाट मात्रै उसले १ करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ संकलन गरेको थियो । सदस्यता, लेबी र नवीकरण शुल्कबाट भने ७१ लाख आम्दानी गरेको थियो ।

माओवादी पनि घाटामा
यता तेस्रो दल माओवादी केन्द्र पनि कांग्रेस जस्तै घाटामा चलिरहेको छ । उसले गतवर्ष १ करोड ८६ लाख आम्दानी गर्दा १ करोड ८५ लाख खर्च गरेको थियो । तर अघिल्लो वर्ष ३ करोड ४८ लाख आम्दानी गर्दा ४ करोड ५९ लाख खर्च गरेको थियो ।

रास्वपाको आम्दानी भन्दा खर्च दोब्बर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भने आम्दानीभन्दा झन्डै दोब्बर घाटामा छ । रास्वपाले २०८०÷८१ मा ३ करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च भने ६ करोड ५० लाख १७ हजार ७८ रुपियाँ छ । यो हिसाबले रास्वपा २ करोड ७० लाख ५७ हजार ५९१ रुपैयाँ घाटामा छ । अघिल्लो वर्ष पनि रास्वपा घाटमै रहेको थियो । दुवै आर्थिक वर्षमा रास्वपाको खर्च चार करोडभन्दा बढी छ ।

एकीकृत समाजवादी पनि घाटामा
राष्ट्रिय पार्टी समेत बन्न पनि नसकेको नेकपा एकीकृत समाजावदी आम्दानीका हिसाबले भने एमालेपछिको धनी देखिएको छ । तर उसको खर्च पनि उत्तिकै भएर घाटाकै हिसाब पेश गरेको छ । नेकपा एसको गत आर्थिक वर्षको आम्दानी ४ करोड २४ लाख ५३ हजार रुपैयाँ छ । उसको खर्च भने ४ करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ छ । यो हिसाबले एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६३ रुपैयाँ घाटामा छ । त्यस्तै जनमत पार्टी पनि घाटामा रहेको देखिएको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०८०÷८१ मा १ करोड १८ लाख ८१ हजार ९४३ रुपैयाँ आम्दानी गरेको छ । उसको खर्च १ करोड १९ लाख ११ हजार ३३३ रुपैयाँ छ । यो हिसाबले जनमत पार्टी २९ हजार ३९० रुपैयाँ घाटामा देखिन्छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहित ६७ वटा दलले आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदनबाट यो तथ्य देखिएको हो । निर्वाचन आयोगमा १ सय २१ वटा राजनीतिक दल दर्ता छन् । तर यी सबै दलले लेखा परिक्षण बुझाएका छैनन् । दलहरूको आर्थिक कारोबार पारदर्शी नभएको भन्दै आलोचना भएपछि आर्थिक वर्ष सकिएको ६ महिनाभित्र निर्वाचन आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था गरिएको हो । तर, राजनीतिक दलले बुझाएको लेखा परीक्षण प्रतिवेदनमाथि आयोगले आशङ्का गरेको छ । दलले आम्दानी र खर्च गोलमटोल बुझाउने गरेका छन् । त्यो पनि आयोगबाट पटक–पटकको ताकेता भएपछि मात्र । गहनरूपमा अध्ययन गर्ने हो भने आयोगमा बुझाएका आय–व्यय प्रतिवेदनको सत्यता र विवरणको आधिकारिकतामाथि शंका गर्न सक्ने पर्याप्त ठाउँ छ ।

प्रतिक्रिया दिनुहोस्