काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरू हुँदै छ । फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन् ।

महाधिवेशनको उदघाटन समारोह दिउँंसो १ बजे सल्लाघारीमा हुनेछ । आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौंको कोटेश्वर, ताथलीलगायत ठाउँबाट झाँकीसहित निकालिने र्याली उदघाटन समारोहस्थल सल्लाघारी पुगेर सभामा परिणत हुनेछ ।
आजैबाट सुरु हुने बन्दसत्रले विभिन्न एजेन्डा पारित गर्दै नयाँ नेतृत्व समेत चयन गर्नेछ । नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) छन् ।
विजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो। नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो । पार्टीको सातौं महाधिवेशनसम्म पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे नै सर्वसम्मत अध्यक्ष चुनिँदै आएका छन् ।