
काठमाडौं । सरकारले निजामती सेवाका विभिन्न समूहमा कार्यरत ७८ जना सहसचिवको सरूवा गरेको छ । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार सामान्य प्रशासन मन्त्रालयले ७८ जना सहसचिवको सरूवा सूची सार्वजनिक गरेको हो ।
जसमा सहसचिव पदमकुमार श्रेष्ठ र दिलिपकुमार गौतम अर्थ मन्त्रालय वा मातहतका निकायमा सरुवा भएका छन् । भवीश्वर पाण्डे गृह मन्त्रालय, भरत गौतम हेटौँडा उपमहानगरपालिका, हेमराज भुसालको इटहरी उपमहानगरपालिका, वीरेन्द्रकुमार मिश्रको जनकपुर उपमहानगरपालिकामा सरुवा भएको छ ।
त्यस्तै शान्तिराज प्रसाई जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । तर काठमाडौँ महानगरपालिकाले भने अझै प्रमुख प्रशासकीय अधिकृत पाएको छैन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको पनि सरुवा भएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।














