काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले भूमि सम्बन्धी अध्यादेशको अन्तर्वस्तु एउटा भएको र नियत अर्को रहेको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट बौद्धिक पेसाकर्मी महासङ्घले शुक्रवार भूमि सम्बन्धी अध्यादेशबारे आयोजना गरेको बृहत् अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेशको अन्तर्वस्तु पनि ठिक नरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दा गौरव महसुस गरेको उनले बताए । प्रधानमन्त्री ओलीले दुई पटक संसद् भङ्ग गरेको र अदालतले रोकेको स्मरण गराउँदै यस्तो पृष्ठभूमिका प्रधानमन्त्रीले राम्रो काम गरेको होला भन्ने कुरामा आशङ्का गर्ने ठाउँ रहेको बताए ।
अध्यक्ष नेपालले संसद्को समितिमा कुनै विधेयक विचाराधीन रहेको अवस्थामा त्यसलाई अध्यादेशको रूपमा ल्याउन नमिल्ने प्रधानमन्त्री अोलीले त्यो विधि पनि उल्लङ्घन गरेको बताए । संसद्को अधिवेशनका बेलामा संसद्को बैठकलाई समेत टार्दै लगेर अध्यादेश ल्याइएको बताउँदै अध्यक्ष नेपालले आफूहरूले विरोध गरेपछि बाध्य भएर अधिवेशन बोलाएको बताए ।














