काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने विषयमा बैठकमा छलफल भएको प्रवक्ता महतले जानकारी दिए । त्यस्तै बैठकले ताप्लेजुङको पाथीभरामा क्षेत्रमा बनाउन लागिएको केबलकार निर्माणका विषयमा देखिएको विवाद वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड दिएको उनले बताए । केबुलकार निर्माणका सम्बन्धमा देखिएको समस्या वार्ताका माध्यमबाट समाधान गर्ने विषयमा सुझाव दिने नेताहरूले बताएको प्रवक्ता महतले जानकारी दिए ।
बैठक अनौपचारिक भएकाले कुनै ठोस निर्णय भने भएन । बैठकमा नेताहरूले दिएको सुझावका आधारमा सत्तारुढ दलको संयन्त्रमा कुरा राख्ने निर्णय भएको उनले बताए ।
त्यस्तै बैठकमा निर्वाचन सम्बन्धी विधेयक, दल सम्बन्धी विधेयकका विषयमा छलफल भएको उनले बताए । विधेयक निर्माणको काम सुस्त देखिएकाले तीव्रता दिने विषयमा छलफल भएको उनले बताए ।
त्यस्तै आसन्न स्ववियु निर्वाचनमा पार्टीको भातृ संस्थालाई बलियो उपस्थिति गराउने विषयमा पनि छलफल भएको घिमिरेले जानकारी दिए ।














