
काठमाडौं । बैतडीमा गोली हानेर एक जनाको हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको शनिबार बेलुका घर नजिकैको एक होटलमा खाना खाँदै गर्दा गोली हानेर हत्या गरिएको हो ।
ढाडमा गोली लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बैडतीका प्रहरी प्रमुख तथा डीएसपी मकेन्द्र मिश्रले बताए । ‘होटलमा खाना खाइरहेकै बेला ढाडमा गोली हानिएको रहेछ । घाइतेको अवस्था निकै गम्भीर थियो । अस्पताल पु¥याउन नपाउँदै मृत्यु भयो’, डीएसपी मिश्रले भने ।
गोली प्रहारबाट सुरेन्द्रको मृत्यु भएसँगै प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका क्रममा सोही ठाउँकै अन्दाजी ४५ वर्ष जतिका कर्ण विष्टले सुरेन्द्रमाथि गोली हानेको खुलेको डीएसपी मिश्रले बताए ।
सुरेन्द्रको हत्यामा पैसा लेनदेनको विषय जोडिएको डीएसपी मिश्रको भनाइ छ । उनका अनुसार सुरेन्द्रले दाइ नाता पर्ने कर्णलाई ४० हजार रुपैयाँ सापटी दिएका थिए । उक्त रकम फिर्ता गर्न उनले पटक पटक ताकेता गरेका थिए । तर रकम फिर्ता गरेपछि उनीहरुबीच विवाद समेत भएको थियो ।
सुरेन्द्रलाई खाना खाइरहेका बेला भरुवा बन्दुकबाट गोली हानेर उनी बन्दुक लिएर फरार भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।