
काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले आगलागीका घटना बढरिरहेको भन्दै पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बैठकमा बोल्दै उनले मुलुकका विभिन्न ठाउँमा विविध कारणले आगलागीका घटना बढिरहेको उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘यसपटक पानी कम परेको छ, आगलागीका घटना बढ्नसक्छन, सरकारले स्थानीय तहमै आगलागी नियन्त्रण समिति अहिले नै गठन गर्नुपर्छ, स्थानीयलाई नै जिम्मेवार बनाउनुपर्छ, उनीहरुलाई उचित तालिमको साथै तराईमा एक घण्टा र पहाडमा २० मिनेटमा पुग्ने गरी वारुणयन्त्रको व्यवस्था गर्नुपर्छ ।’
आगलागी नियन्त्रणका लागि सामुदायिक वन समितिको सक्रियतामा प्रहरी र नेपाली सेनालाई समेत तयारीका साथ राख्नुपर्ने उनको भनाइ छ ।
सांसद मिश्रले पछिल्लो पटक काठमाडौँस्थित बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर स्थानीयलाई समस्या भएको घटना उल्लेख गर्दै सो घटनालाई समेत मध्यनजर राखेर सहरमा सडक, खानेपानी, ढल र विद्युत् आदिको व्यवस्थापनको निम्ति समन्वय समिति बनाउनुपर्ने माग गरे ।
उनले भने, ‘विपत् व्यवस्थापन गर्नका लागि सरकार बेलैमा सचेत रहनुपर्छ, होइन भने एकातिर सधैँ सडकको दूरदशा, अर्कोतिर खर्च बढी हुने र दुर्घटनाको पनि जोखिम बढ्छ ।’