
काठमाडौं । सप्तरीको फत्तेपुरमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । आज (सोमबार) बिहान सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोलमा पसेको बाघले आक्रमण गर्दा स्थानीय दुई जना घाइते भएका हुन् ।
अन्दाजी ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री घाइते भएका हुन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदय कुमार राईले जानकारी दिए ।
बाघ बस्तीमा पसेको जानकारी पाएलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित भएका छन् । उक्त बाघलाई जंगल क्षेत्रमै फर्काउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।














