
काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जस्तो संवेदनशील क्षेत्र पनि राजनीतिक व्यापार र साँठगाँठको उर्वर भूमि बन्न पुगेको छ ।
राजनीतिक दल वा संगठनको सदस्यता नलिएका व्यक्ति हुनुपर्ने मापदण्ड नै तोकेर दरखास्त आह्वान गरिएपनि गृहमन्त्री रमेश लेखकले आफु निकटलाई नियुक्ति दिन राजनीतिक चलखेल गरेका हुन् ।
कार्य मूल्याङ्कनको आधारमा पुछारमा रहेका दिनेशप्रसाद भट्ट पहिलो नम्बरमा सिफारिस भएका छन् । दोस्रोमा सुमनकुमार कर्ण र तेस्रो नम्बरमा मन्दिप सुवेदीको नाम सिफारिस भएको छ । प्राधिकरण गृह मन्त्रालयमातहत नै रहेको र गृहमन्त्री पनि कांग्रेसकै रहेकाले सिफारिसमा परेका तीनैजना कांग्रेस पृष्ठभूमिका छन् ।
सहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको सिफारिस समितिले ९ पुसमा कार्यकारी प्रमुखका १६ प्रतिस्पर्धीको अंक सार्वजनिक गर्दा बैतडी घर भएका भट्ट ११औँ नम्बरमा थिए ।
योग्यता, तालिम र अनुभवबापतको अंकका आधारमा सूची सार्वजनिक गरिएको थियो । तर, चित्त नबुझेका उम्मेदवारले पेस गरेको निवेदन र कागजात मूल्यांकनबाट भन्दै दुई दिनमै अर्काे सूची सार्वजनिक भयो, जसमा भट्टको अंक २० बाट बढेर २२.५ मा आयो भने १६ जनाको सूचीमा ६ नम्बरमा उक्लिए ।
तर, ४५ दिनको समयावधि पाएर ६ मंसिरमा गठन भएको समितिको म्याद फेरि ३५ दिन थपेर राजनीतिक चलखेल सुरु भयो । ७ माघको मन्त्रिपरिषद् बैठकले समितिको म्याद ३५ दिन थपेको थियो ।
नभन्दै ११औँ नम्बरमा रहेका भट्ट २९ माघमा शीर्ष पाँचमा परे । व्यावसायिक कार्ययोजनाका आधारमा भन्दै शीर्ष पाँचको सूची सार्वजनिक गरिएको थियो । जसमा भट्ट, धर्मराज उप्रेती, वसन्तराज अधिकारी, मन्दीप सुवेदी र सुमनराज कर्णको नाम शीर्ष पाँचमा सार्वजनिक गरिएको थियो । तर, ३० माघमा भएको अन्तर्वार्तापछि बिहीबार तीन जनाको नाम सिफारिस भएको छ, जसमा भट्ट पहिलो नम्बरमा छन् ।
गृहमन्त्री लेखकले मापदण्डविपरीत आफ्नै पार्टीका नेता (कांग्रेस महासमिति सदस्य)समेत रहेका इन्जिनियर भट्टको नाम पहिलो नम्बरमा सिफारिस गरेका हुन् । मन्त्रिपरिषद्ले भट्टलाई नै नियुक्त गर्ने तयारी छ ।
राम्रोलाई भन्दा पनि हाम्रोलाई नियुक्त गर्ने अवसर छोपेर बसेको सरकारले जनताको जीउधनको सुरक्षासंग प्रत्यक्ष सरोकार राख्ने प्राधिकरणलाई लामो समयसम्म नेत्तृत्वविहिन बनाएपछि सरकारको तीव्र आलोचना भइरहेको छ ।














