काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि भइरहेको छानबिन कार्यको स्थिति खुलाउन भन्दै काठमाडौं महानगरलाई पत्र लेखेको छ । मन्त्रालयले फागुन १५ गते महानगरलाई पत्र पठाएर छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाउन भनेको छ।

‘प्रस्तुत विषयमा तहाँको चलानी नम्बर ४५०, मिति २०८१/०९/२४ गतेको पत्र प्राप्त भई व्यहोरा अवगत भयो। सो सम्बन्धमा तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाइदिनुहुन मिति २०८१/११/१५ को निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।
काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै गुरागाईंमाथि महानगरले छानबिन सुरु गरेको थियो ।
छानबिनका लागि काठमाडौं महानगरले पूर्वसचिव शंकरप्रसाद पाण्डे नेतृत्वमा समिति गठन गरेको थियो। उक्त समितिले प्रतिवेदन बुझाएको छैन ।