Logo
Logo

६ महिनामा ११ अर्ब ३६ करोड नाफा कामाउने कुलमानलाई सरकारले दियो ‘शून्य’ अंक


2.3k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कामलाई सरकारले शून्य अंक दिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन मूल्यांकनका आधारमा घिसिङले शून्य नम्बर पाएका हुन् । मन्त्रालयले यसबारे घिसिङलाई औपचारिक जानकारी भने दिइसकेको छैन ।

घिसिङले बिहीबार गत पुस २५ गते आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका विवरण पेस गरेका थिए ।

प्राधिकरणले चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुनुअघि आव ०७२/७३ मा आठ अर्ब ८९ करोड घाटामा थियो । तर, कुलमानले नेतृत्व लिएयता प्राधिकरणले निरन्तर नाफा आर्जन गरिरहेको छ । आव ०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

आर्जित नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनामा लगानी गरिरहेको छ ।

प्राधिकरणले चालू आवको ६ महिनामा विद्युत् बिक्रीबाट मात्रै ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । यस अवधिमा सहायक तथा सम्बद्ध कम्पनीहरूबाट एक अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरूबाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ । खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ ।

हिउँदमा उत्पादनमा भएको गिरावटले माग धान्न नसक्दा भारतबाट आयात थालिएको छ । ६ महिना अवधिमा भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गर्दा एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणका तर्फबाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्