
काठमाडौं । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जारी १० औं अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान हुन लागेको हो ।
प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार आज ९ बजेपछि मतदान सुरु हुनेछ । नयाँ नेतृत्वका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर प्यानलै बनाएर मैदानमा उत्रिएका हुन् ।
ओली पक्षबाट अध्यक्षमा राजकुमार ओझा र विद्या पक्षबाट अजम्बर राईले उम्मेद्वारी दिएका छन् । ओली पक्षबाट उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवार छन् ।
विनोद ढकालले नेतृत्व गरिरहेको विद्या पक्षबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा उम्मेद्वार छन् । अधिवेशनबाट १ सय ६५ सदस्यीय कमिटी चयन हुनेछ । अधिवेशनका लागि ९११ जना प्रतिनिधि मतदाता छन् ।