
काठमाडौं । नेपाल शिक्षक महासङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीले केहिदनअघि एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
नेपाल मेडिकल कलेजको कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षकहरूप्रति अमर्यादित टिप्पणी गरेका थिए । उनले सार्वजनिक रूपमा अभिव्यक्ति दिएको कहिदिनपछि मात्रै एक विज्ञप्ति जारी गर्दै महासङ्घले आपत्ति जनाएको हो ।
सङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले शिक्षक समुदायमाथि असहिष्णु र अशोभनीय अभिव्यक्ति दिएको बताएका छन् ।
‘नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट हालसालै कुनै सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै गर्दा नेपाली शिक्षक समुदाय माथि गरिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
देशमा गुणस्तरीय शिक्षाको विकास र विद्यार्थीको भविष्यको लागि अहोरात्र खटिइरहेका शिक्षकमाथि यस्तो अमर्यादित र हेपाहा अभिव्यक्ति राखिनु निन्दनीय भएको उनले बताएका छन् ।
ओलीको अभिव्यक्ति कडा रूपमा विरोध गर्ने विज्ञप्तिमा उल्लेख छ । आगामी दिनमा नेपाली शिक्षक–कर्मचारीलाई लाञ्छित गर्ने खालका यस्ता अशोभनीय र असान्दर्भिक अभिव्यक्ति नराख्न समेत महासङ्घले चेतावनी दिएको छ ।
शिक्षकहरूको किन तलब बढाउने भन्दै प्रश्न गरेका थिए । ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकको तलब बढाउन नहुने प्रधानमन्त्रीको भनाइ थियो । ५२ प्रतिशत अभिभावक तथा युवाहरूको सपना एसईईमै सकिने बताउँदै उनले यस्तो प्रणाली नै खारेज गर्नुपर्ने बताएका थिए ।
