
काठमाडौं । नेपाली राजनीतिमा सबैलाई चकित पार्दै २१ सांसदसहित संसद् छिरेका रास्वपा सभापति रवि लामिछाने पछिल्लो समय ‘भूमिगत’जस्तै भएका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने विभिन्न जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि हाल गुमनाम छन् ।
कास्की, रुपन्देही र चितवनबाट धरौटीमा रिहा भएपछि लामिछाने भनेका थिए, ‘बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला । सबै प्रक्रियाहरू सकौँ, त्यसपछि भन्नुपर्ने कुराहरू धेरै छन्, महसुस भएका कुराहरू कति छन्, त्यसलाई थाँती राखौँ । बोल्ने समय अहिले भएको छैन ।’
लामिछानेमाथि विभिन्न पाँच सहकारीको रकम हिनामिना प्रकरणमा पाँच जिल्लाका प्रहरी हिरासत र जिल्ला अदालत धाएपछि उनी रणनीतिक रूपमा योजना बनाउन व्यस्त रहेको स्रोतले बताएको छ । सहकारी ठगीको आरोपमा लामिछानेविरुद्ध कास्की, काठमाडौं, चितवन र रुपन्देहीमा मुद्दा छ । पर्सामा भने अभियोजन दर्ता हुन बाँकी छ । हाल लामिछानेको दैनिकी मुद्दा दर्ता भएका जिल्ला अदालतमा तारेख धाउँदैमा बितिरहेको देखिन्छ ।
उनी आजभोलि कहीँ कतै सार्वजनिक रूपमा देखिएका छैनन् । उनी सार्वजनिक रूपमा बाहिर नदेखिए पनि भित्री रणनीति बनाइरहेको उनी निकट नेताहरू बताउँछन् । न्यायिक लडाइँको सिलसिलामा भएका कारण न्यायालयको सम्मान गर्दै लामिछाने गत कात्तिक २ गते पक्राउ परेर धरौटीमा हिरासतमुक्त भएपछि सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रममा नदेखिएको रास्वपा स्रोतले दृष्टिलाई बतायो ।
लामिछाने सहकारी ठगी अभियोगमा चार जिल्ला अदालतबाट धरौटी जमानीमा हिरासतमुक्त भएका छन् । अब उनी पाँचौँ जिल्लाका रूपमा पर्साको सानो पाइला सहकारी प्रकरणको मुद्दा कुरिरहेका छन् । लामिछानेविरुद्ध एकसाथ अनुसन्धान भए पनि पर्सामा भने मुद्दा रोकिएको छ । ‘माथिको आदेश’भन्दै प्रहरीले अनुसन्धान सकेर पनि रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छैन ।
तीन महिनाअघि नै उनलाई पर्सा लगेर बयान लिइएको थियो । तर चार जिल्लामा अभियोजन दर्ता भएर धरौटीमा रिहा भएपछि पर्सामा रोकिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । पर्सामा मुद्दा दर्ता भएर प्रक्रिया सुरु नभएसम्म लामिछाने आन्तरिक रणनीतिमै रहेको उनीनिकट नेताहरू बताउँछन् ।
लामिछाने बुढानीलकण्ठस्थित चौधरी ग्रुपको सिजीहिल्समा परिवारसहित पुस्तक अध्ययन र आफ्नो मुद्दाका विषयमा छलफलमा केन्द्रित बनेका छन् । रास्वपाका नेता–कार्यकर्ता भेट्नेदेखि पार्टीका सार्वजनिक गतिविधिमा सहभागी नभए पनि निर्देशन भने दिइरहेको बताइएको छ । लामिछानेले आफ्नो राजनीतिक र हिरासत बसाइँको अनुभव समेटेर पुस्तक लेख्ने तयारीमा समेत रहेको उनीनिकटहरू बताउँछन् ।
पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका लामिछाने पहिलो प्रयासमै संसद् छिरेका हुन् । छोटो अवधिमै संसद्को चौथो शक्ति बनेपछि रास्वपामाथि आम चासो देखिन्छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्ति नगरेका कारण पद गुमाउनुपरेको थियो । लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः गुमेको थियो । अमेरिकी नागरिकता त्यागेर नेपाल फर्किए पनि उनले नेपाली नागरिकता प्राप्तिका लागि निवेदन दिएका थिएनन् ।
नागरिकता पुनः प्राप्तिपछि लामिछाने २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि चितवन २ बाटै निर्वाचित भएका हुन् । सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि लामिछानेको सांसद पद हाल निलम्बनमा परेको छ । रास्वपा नेता तथा कार्यकर्ताहरू उनको निलम्बित सांसद पद चाँडै फिर्ता हुने विश्वासमा छन् । सरकारको प्रतिशोधका कारण चार जिल्लाबाट धरौटीमा छुट्दा पनि संसद् सचिवालयले लामिछानेको निलम्बन फुकुवा नगरेको, पर्सामा नियोजित रूपमा अभियोजन दर्ता नगरेर दुःख दिने काम गरेको रास्वपाको आरोप छ ।
लामिछानेले संसद्को हिउँदे अधिवेशन आह्वान भएपछि सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन फुकुवाका लागि आग्रह गरेका थिए । सभामुख घिमिरेले नियमअनुसार प्रक्रिया अगाडि बढ्ने कूटनीतिक जवाफ दिएका थिए । हालसम्म लामिछानेको निलम्बन फुकुवा भएको छैन ।