Logo
Logo

‘बा’को शासनमा छोराहरूको ‘गुन्डागर्दी’ !


3.2k
Shares

काठमाडौं । हरेक राजनीतिक पार्टीमा कार्यकर्ताको ठुलो महत्त्व हुन्छ । कार्यकर्ताकै अथक मेहनत र प्रयासले नै पार्टीको सिद्धान्त र विचार जनतासामु पुग्छ । जनतालाई सचेत र सङ्गठित गर्ने काममा कार्यकर्ताको ठुलो हात हुन्छ ।

देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउन, विदेशी थिचोमिचोको विरोध गर्न र त्यसबारे जनतालाई आन्दोलित गर्ने काम कार्यकर्ताले नै गर्छन् । तर, पछिल्लो समय दलका कार्यकर्ता गुन्डागर्दी र नेतृत्वको भक्ति गान मात्रै लाग्ने गरेको पाइन्छ । त्यसका केही उदाहरण हेरौँ–

ओलीको विरोध गर्नेलाई मुक्का र लात्ती
एमाले भातृ सङ्गठन युवा संघ नेपालको आयोजनामा भएको केपी ओली कपको फाइनल खेल सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा थियो । मछिन्द्र र आर्मी क्लबचीको उक्त फाइन खेल हेर्न सर्वसाधारणदेखि प्रधानमन्त्री ओली र विश्वकप विजेता इटालियन पूर्व कप्तान एवम् गोलकिपर जियानलुइजी बुफोनसम्मको उपस्थिति रहेको थियो ।

त्यहाँ प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको विरोध हुन थालेपछि आयोजकका सदस्य नै कुटपिटमा उत्रिए । प्ररायु सङ्घको आयोजकका एक सदस्यले दर्शक कुटेपछि अन्य दर्शकले प्रतिवाद गरे । आयोजकका सदस्य र दर्शकबीच विवाद भएपछि प्रहरी आयो । तर, प्रहरीले दर्शक कुटपिटमा संलग्नलाई केही पनि गरेनन् । अहिले सो भिडियो आफ्नो सरकार भएपछि जे गरे पनि हुन्छ भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रहरीमाथि नै कुटपिट
माघ २५ गते मध्यरातमा काठमाडौं महानगरपालिका–२६ छाया सेन्टर अगाडि प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि ६ जनाको समूहले कुटपिट ग¥यो । जनताको सुरक्षमा खटिएका प्रहरीमाथि कुटपिट गर्ने सत्तारुढ दल एमाले निकट भ्रातृ संगठनका विद्यार्थी नेताहरू थिए । कुटपिटमा संलग्न अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहित अन्य नेताहरू गोपालबहादुर शाही, नविन ऐरी, दिनेश सिग्देल र रमेश कुमार फुलारा पक्राउ परे । चौतर्फी दबाबपछि पक्राउ परेका उनीहरू १० देखि १५ हजार रुपैयाँ धरौटीमा छुटिसकेका छन् ।

राखेप सदस्यसचिवको कार्यकक्ष तोडफोड
गत माघ २५ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड भयो । उक्त कार्यमा सत्तारुढ दल नेपाली कांग्रेसका कार्यकर्ता गरेका थिए । कार्यकक्ष तोडफोड गरेको आरोपमा गत शुक्रबार मात्रै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल विद्यार्थी संघका नेता विक्रम भन्ने दधिराम सिटौला पक्राउ गरेको छ । झापाको चन्द्रगढी घर भएका दधिराम राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाका भाइ पर्छन् ।

अधिवक्तामाथि कुटपिट
गत माघ दुई गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै कुटपिट भयो । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमा हातपात भएको थियो । उक्त घटनामा रास्वपाकै कार्यकर्ता संलग्न भएका थिए ।

आफैबिच पनि खुकुरी हानाहान
गत पुस ६ गते राति काठमाडौंको दरबारमार्गस्थित एक रेस्टुरेन्टमा कांग्रेसका दुई भ्रातृ सङ्गठन तरण दल र नेविसंघका नेताबीच खुकुरी हानाहान भयो । एउटाले गृहमन्त्री रमेश लेखक मेरो मान्छे हो भन्दै धाक लगाउने अर्काले हामी पनि कंग्रेसकै कार्यकर्ता हौँ गृहमन्त्रीको धाक लगाउने भन्दै नेविसंघका रमेश भट्टमाथि तरुण दलका नेताहरूले खुकुरी प्रहार गरेका थिए । खुकुरी हान्ने पनि काँग्रेसी खुकुरी खाने पनि काँग्रेसी ।

त्यस्तै यही फागुन १५ गते मात्रै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच कुटाकुट भयो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बारेमा कांग्रेसको संस्थापन अर्थात सभापति शेरबहादुर देउवा र इतर समूहका शेखर कोइराला समूहबीच कुटाकुट हुँदा सभापति सरोज पोखरेल घाइते भए ।

यी त पछिल्लो समय चर्चामा आएको केही घटना मात्रै हुन् । विश्वविद्यालयमा ताला लगाउने, प्राध्यापक कुट्ने, कालो मोसो दल्ने, धम्क्याउने, चन्दा असुल्ने त दलका कार्यकर्ताको अनिवार्य कामजस्तै बनेको छ ।

गुन्डागर्दी संसारभर हुन्छ । विधिको शासन भएका देशमा गुन्डाहरूले राजनीतिक संरक्षण पाउँदैनन् । नेपालमा भने गुन्डा र नेता छुट्ट्याउनै कठिन भइसकेको छ । गुन्डागर्दीमा प्रहरीले पक्राउ परेका कार्यकर्तालाई छुटाउन नेता र मन्त्रीसम्मले दबाब दिने गरेका छन् । कार्यकर्ता क्षणिक आवेगमा आएर कुटपिटमा उत्रिँदा नेताहरूले त्यसको निन्दा गर्नुपथ्र्यो ।

तर, नेताहरू उल्टै उनीहरूको बचाउमा लाग्ने गरेका छन् । कसै जन्मदिनमा तरबारले केक काटेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा हाल्दा पक्राउ पर्छन् । तर, सर्वसाधारण र प्रहरी कुट्ने दलका कार्यकर्तालाई कारबाही हुँदैन । त्यसैले त ‘बा’को शासनमा छोराहरूको गुन्डागर्दी भन्दै आलोचना हुन गरेका छन् ।


दर्शक कुट्नेलाई कारबाही गर्न सांसदहरूको माग
सांसदहरूले रंगशालामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकलाई कुट्नेमाथि कारबाहीको माग गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले रंगशालाभित्रै देखादेखी दर्शक कुट्नेलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । सत्ता र शक्तिको बलमा परिचालित पद्धति अन्त्य हुनुपर्ने उनको माग छ ।

सिंहदरबारमा समितिको बैठकपछि उनले भने, ‘सत्ता र शक्तिको आडमा परिचालित हुने पद्धति अन्त्य हुुनुपर्छ । पुलिसलाई कुट्दा कारबाहीको दायरामा ल्याउनुपर्छ भन्यौँ । त्यस घटनामा संलग्न कुन पार्टीको भनेर हामीले हेरेनौँ । त्यहाँ (रंगशालामा) पनि देखादेखी कुटपिट भयो । ती मान्छेलाई कारबाहीको दायरामा सरकारले ल्याउनुपर्छ ।’

त्यस्तै, राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रंगशालामा फुटबल हेर्न पुगेका दर्शक कुट्नुलाई ‘ओलीतन्त्रको अराजक गतिविधि’ भनेका छन् । राणा शासनमा भन्दा धेरै अत्याचार भएको उनको भनाइ छ । कार्यव्यवस्था समितिको बैठकपछि उनले भने, ‘रंगशालामा ओली सरकारको गुन्डागर्दी खुलमखुला देखियो । जहानियाँ राणा शासनमा नदेखिएको दृश्य देख्यौँ । प्रहरीकै सामुन्ने पब्लिक कुटिए । बर्दिवाला डिएसपीले कुटपिटमा संलग्नविरुद्ध कारबाही गरेनन् । यो त राणा शासनभन्दा पनि चर्को भयो ।’

प्रतिक्रिया दिनुहोस्