काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फ्यालिएको राजतन्त्रको पछाडि दौडेर समय खेर नफाल्न आग्रह गरेका छन् । अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको उनको भनाइ छ । राजावादीहरुको सक्रियता बढ्दै गएको अवस्थामा पोखरेलको यस्तो टिप्पणी आएको हो ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रको नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौँ ।’ उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो ।’














