काठमाडौँ । सांसद नारायणी शर्माले सम्पत्तिमा महिलाको समान अधिकार र राजनीतिमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद शर्माले ११५औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सम्पत्तिमा समान अधिकार, कार्यकारी भूमिकासहित ५० प्रतिशत प्रतिनिधित्व ‘ग्यारेन्टी’ हुने गरी कानुन निर्माण गर्नुपर्ने बताए ।
सांसद मनीष झाले टिपर चालकले अनिन्त्रित र जथाभावी टिपर चलाउँदा धेरै मानिसको अकालमा ज्यान जाने गरेको भन्दै टिपर चालकलाई फरक खालको ‘लाइसेन्स’ व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले कतिपय अवस्थामा टिपर हिँड्न अनुमति नदिएको अवस्थामा समेत टिपर चलाइरहेको देखिएकाले यसलाई नियन्त्रण गरी जीउधनको सुरक्षा गर्नुपर्नेमा जोड दिए ।
सांसद दीपकबहादुर सिंहले देवभूमि, बुद्ध र सीताको जन्मभूमि भएकाले नेपालको समृद्धिका लागि धार्मिक पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए । सांसद डा अमरेशकुमार सिंहले रौतहट सदरमुकाम गौर तनावग्रस्त भइरहेकाले तत्काल अध्ययन गरी समस्या समाधान गर्न माग गरे ।
सांसद मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा एक निर्माण आयोजना अलपत्र छोडेको र जलस्रोत तथा सिँचाइ विभाग, एसियाली विकास बैङ्कको सहयोगमा पश्चिम राप्ती नदी नियन्त्रणका लागि सञ्चालित एक परियोजना निर्माण भइरहेकामा सम्झौताअनुसार सम्पन्न गर्ने समय तीन महिना बाँकी रहँदा ४० प्रतिशत मात्र काम भएकाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले उक्त परियोजना समयमा निर्माण नभएमा सो क्षेत्रमा धेरै ग्रामीण भाग डुबान र कटान हुने भएको भन्दै समयमै समाधान गर्न माग गरे ।
सांसद छिरिङलामु लामा तामाङले बिहीबार जनकपुरमा बुद्धएयरको विमानमा देखिएको लापरबाहीप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपालको आन्तारिक तथा अन्तरराष्ट्रिय उठान सुरक्षित बनाउन आग्रह गरे ।














