रुपन्देही । रुपन्देही जिल्लाको भारतीय सीमावर्ती क्षेत्र मर्चवारमा यति बेला दिन दुई गुणा रात चार गुनाका दरले चोरी तस्करी भइरहेको छ । नेपाल-भारत खुल्ला सिमानाको फाइदा उठाउँदै आर्थिक अपराध भएको छ ।

रुपन्देही जिल्लाको सुरक्षाको प्रमुख रञ्जित सिंह राठौर छन् । उनी कति बेला सरुवा हुन्छ भनेर पर्खाइमा छन् । सरुवाको मौका छोपी उनका आन्तरिक घुमुवा प्रहरी जवान अनिल थारु, राजु विश्वकर्मा, प्रहरी सहायक हवलदार तुलसी यादव, रण बहादुरले तस्करसँग सेटिङ् मिलाएर तस्करी गराएको खुल्न आएको छ । रुपन्देही जिल्लाको सबै प्रहरी युनिटलाई पछि पार्दै एसपी राठौंरको आडमा तस्करी गराएका छन् ।
बेलहीया भन्सार परिसरबाट तस्करको लाइनलाई केही मात्रामा कडाइ गरिएको छ तर अन्य नाकामा खुलमखुल्ला रूपमा तस्कर भइरहेको छ । मुख्य गरी सुन्डि, नसडियाघाट र बोगडीबाट तस्करी गराइरहेका छन् । तस्करहरूले भारतबाट चिनी, कपडा, मोटरपार्टस, खाद्यान्न, ब्रान लगायतका सामान, साइकल, मोटरसाइकल, पिक अप गाडी लगायतमा ओसार पसार गरी रहेका छन् । नेपालबाट भारत तर्फ केराउ, पपकर्न, लहसुन ओसारपसार भइरहेको छ । उक्त अवैध कारोबारमा चोरीका मोटरसाइकल प्रयोग भइरहेका छन् ।
यसरी खुलेआम तस्करी भइरहँदा पनि स्थानीय प्रशासन मौन छ । तस्करीका घटना बाहिर आउँदा पनि कारबाही गर्ने निकाय चुप रहेको छ । पहिले पहिले रातको समयमा मात्र हुने चोरी तस्करी अहिले दिन हाडै हुने गरेको स्थानीयहरू बताउँछन् ।
घरायसी प्रयोजनका लागि थोरै सामान ल्याउँदा प्रहरीले चेकजाँच गरेर फर्काइदिने गरेको बताउँदै ताती लागेर बाइकमा सामान ओसारपसार गर्नेलाई रोक्ने वा सोध्ने सम्म गर्न नसकेको स्थानीयले बताएका छन् ।
मर्चवार क्षेत्रमा विगतमा भन्सारका कर्मचारी र राजस्व चुहावट बुटवलका कर्मचारीहरूमाथि आक्रमण भएको थियो । मर्चवारको सीमावर्ती क्षेत्र बोगडीबाट भारतीय नागरिक सोनु यादवले कपडा, खाद्यान्न तस्करी गराइरहेका छन् । कदमहवाबाट खाद्यान्न यादव थरका व्यक्ति र कपडा जैसवाल थरका व्यक्तिहरूले तस्करी गराइरहेका छन् । यसै गरी त्रिलोकपुरमा कुखुरा, चिनी भेली भन्ने व्यक्तिहरूले तस्करी गराइरहेका छन् । यसै गरी दुगौलिया नाकाबाट रुपेश यादवले चिनी, किरानाजन्य समानको तस्करी गराइरहेका छन् । त्यसैगरी करौता ठोटरी, तरेनी नाकाबाट पनि घुमुवाहरुले सेटिङ मिलाएका छन् । उक्त क्षेत्रमा कोही नयाँ व्यक्ति गएमा चारैतिरबाट तस्करले घेर्ने र आक्रमण समेत गर्छन् ।