Logo
Logo

नेपालमा राजा फर्कने कुनै सम्भावना छैन, त्यो सपना नदेखे हुन्छ : प्रेम सुवाल


630
Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । चाँगुनारायण नगरपालिकाको नवौं स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै उनले नेपाल मजदुर किसान पार्टी राजाको पक्षमा कहिल्यै नरहेको बताए ।

सचिव सुवालले भने, ‘पार्टी अध्यक्षको एउटा अन्तर्वार्तालाई काटकुट गरी अतिरञ्जित गर्ने प्रयास भएको छ । नेमकिपा कहिल्यै पनि राजाको पक्षमा छैन, हिजो पनि थिए, अब पनि हुदैन । त्यसैले भ्रम फलाएर राजाको पक्षमा जनमत ल्याउन नखोजौँ, राजसंस्था अब फर्किन्न ।’ सत्तामा पुगेका दलहरूले जनता र देशको पक्षमा काम गर्नुपर्ने बताउँदै उनले विदेशी प्रतिक्रियावादीसँग सधैँ चनाखो रहनुपर्ने बताए ।

सांसद सुवालले चाँगुनारायण नगरपालिकाले विसं २०८२ मा आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष–२०८२ मा आन्तरिक र बाह्य पर्यटकको भ्रमणसँगै यहाँका ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षण, उत्खननलाई पनिसँगै लैजानुपर्ने बताए ।

चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी वैशाख १ गतेदेखि वर्षभरी मनाइने भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पयटकलई आकर्षित गर्न आवश्यक योजना तथा कार्यक्रम अगाडि बढाउने बताए । उनले यहाँका सबै पर्यटकीय क्षेत्रको पहिचानलाई विश्व मानचित्रमा पुर्‍याउन भ्रमण वर्षको आयोजना गर्न लागिएको र भ्रमण वर्षले सिङ्गो चाँगुनारायणको समृद्धिमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका निवर्तमान् प्रमुख सोमप्रसाद मिश्र, निवर्तमान् उपप्रमुख जुना बस्नेत, नेपाली कांग्रेसका प्रतिनिधि शिवहरि केसीलगायतले नगरकोट भ्रमण वर्ष चाँगुनारायण नगरवासी सबैको भएकाले आवश्यक सहयोग रहने बताए ।

कार्यक्रममा नगरपालिकाको कानुन पुस्तक सार्वजनिक गरिएको थियो भने भ्रमण वर्षका विज्ञ डा धनश्याम खतिवडाले भ्रमण वर्षको तयारीबारे र नगरपालिकाका सामाजिक शाखा अधिकृत निला घिमिरेले नगरपालिकाको चालु आर्थिक वर्षमा भएका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्