Logo
Logo

राजावादीको हक र दलहरूको अल्पदृष्टि


1k
Shares

अरू बेला पनि कुनै अवसर पारेर उनी दलहरूले सरकारमा बसेर जनताको सेवा गर्न नसकेको र आफूले जे कारणले राजगद्दी छाडिएको थियो, त्यसअनुरूप गणतन्त्र चल्न नसकेको भावको सन्देश दिन्थे । उनी घुमाउरो पाराले आफू नै ठिक भएको जिकिर गरिरहन्थे ।

कहिले राष्ट्रनिर्माता त कहिले हजुरबा त्रिभुवनको उत्तराधिकारीका नाताले उनी अझै पनि आफू नै राजा छु भन्ने भाव दिएर आफ्ना विचार राख्थे । उनको देशाटन जनतासँग एकाकार हुने उद्देश्यले नै हुन्थ्यो । विदेश खासगरी भारत भ्रमण पनि हिन्दूवादी, राजावादी व्यक्तिलाई नै भेट्ने लक्ष्यले हुन्थ्यो ।

गत वर्ष उनले राजतन्त्रात्मक सार्क मुलुक भुटानको भ्रमण गरेर आफ्नो प्रभाव छाड्न सफल भए । व्यक्ति कमजोर भाषामा भनिएको कुराको केही दलबाट अलि अलि विरोध त हुन्थ्यो तर खासै वास्ता गरिन्नथ्यो । मुलुकका राजावादी भने केही भिड जम्मा गरेर त्यसलाई उछालेर राजतन्त्रको वकालत गरिरहन्थे ।

राजा आऊ देश बचाऊ भन्ने मूल नारा त तिनको हुन्थ्यो नै, गणतन्त्रवादी दल र सरकारलाई यसपालि प्रजातन्त्त दिवस फागुन ७ को पूर्वसन्ध्यामा भने उनले राष्ट्रिय एकता वृद्धि गर्न र राष्ट्र जोगाउनका लागि आफूलाई साथ दिन स्पष्टै घोषणा गरिदिए । उनले छर्लङ्ग बुझिने गरी नै भने, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौंँ ।’

उनको सन्देश यस्तो थियो कि राष्ट्र अब बच्न नसक्ने स्थितिमा पुगिसकेकाले अब राजतन्त्रमै फर्कन देशवासीले उनलाई साथ दिनुपर्छ । आफ्नो त्याग अर्थात् राजतन्त्रात्मक व्यवस्थाको परित्यागलाई कमजोरीका रूपमा नबुझ्न पनि चेतावनी दिँदै उनले मानौँ कि राजगद्दी त्याग उनले सजिलैसित गरेका थिए र तिमी गणतन्त्रवादीहरू नै देश चलाऊ भन्दै श्रीपेच नारायणहिटीमा नासो छाडेर गएका थिए । जस्तो कि उनको सन्देशमा भनिएको छ, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’ उनले स्वेच्छाले श्रीपेच त्यागेको कुरा चाहिँ सोह्रै आना किन गलत हो भने त्यत्रो जनान्दोलनले राजा तुरुन्त नफालेर अझै तिन वर्ष कुरिरहेको थियो । संविधान नबन्दै राजतन्त्रउन्मूलन हुँदाको त्यस घटनामा संविधानसभाका लागि भएको आमनिर्वाचनले नै गणतन्त्रवादीहरूलाई जनादेश दिएको थियो, सायद राजतन्त्रवादी एक जना सदस्य मात्र थिए, ती पनि प्रमुख राजनीतिक दलका अध्यक्षले उनकै लागि छाडेको निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनले विगतका कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्याएर अघि बढ्नुपर्ने पनि बताए । उनले थपे, ‘हामीले इतिहासलाई नाश गरेर र पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौँ भनेर हामी अघि बढौँ ।’

वंशवादले मात्र अस्तित्वमा रहेको र कसैको वंशीय उत्तराधिकारले मात्र राष्ट्र प्रमुख हुन पाइने व्यवस्था कुनै वैज्ञानिक पद्धति होइन । जनतालाई थाहा छ, स्वयं वैदिक पद्धतिका हिमायतीले पनि बुझेका छन्, कसैका कोखमा जन्मँदैमा ईश्वरको वा देवताको कुनै रूप हुनै सक्दैन ।

देशकाप्रकृति भनेको आफूले अवलम्बन गर्दै आएको व्यवहार र संस्कृति भनेको राजा मान्ने हिन्दू वैदिक चलन –यसलाई यसरी नै बुझ्न सकिन्छ र बुझिनुपर्छ । इतिहास र पहिचानको कुरा चाहिँ के हो भने गोपालदेखि शाहवंशसम्मा आउँदाको राजतन्त्रात्मक व्यवस्था र हिन्दू राज्य भन्ने विश्वको एक मात्र संज्ञा ।

उनले आफ्नौ वैदिक संस्कृति मासिएको कुरालाई नेपाल र नेपाली जनताको गल्तीका रूपमा औँल्याउँदै त्यसलाई सच्याएर राजतन्त्र पुनःस्थापना गर्न वा नासोका रूपमा नारायणहिटीमा छाडिएको र हाल नारायणहिटी सङ्ग्रहालयमा रहेको राजतन्त्रको प्रतीक श्रीपेच फिर्ता दिन अनुरोध गरेका हुन् । सबैको अस्तित्व सुरक्षित हुनुपर्ने उनको माग राजतन्त्रलाई स्थान दिन गरिएको आग्रह हो जुन अब जोडदार रूपमै आइसकेको छ ।

राजतन्त्रवादीहरूले बुझेको तथ्य के हो भने आमनिर्वाचनबाट राजतन्त्रवादीहरू दुई तिहाइका सङ्ख्यामा निर्वाचित हुन सक्दैनन् । विसं २०७४ का निर्वाचनमा २५ जनासम्म प्रतिनिधिसभा सदस्य भित्र्याएको राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी हाल १४ जनाको उपस्थिति लिएर बसेको छ । यतिले त संसद्मा ठुलो स्वर हुँदैन । अनि अब आउने निर्वाचनमा पनि न दुई तिहाइ आफ्नो आउँछ, नत्र विचार मिल्ने अन्य दल पनि आउन सक्छन् भन्ने उसलाई स्पष्टै थाहा छ । त्यति दूरदर्शिता त उनीहरू पनि राख्न सक्छन् ।

संसदीय व्यवस्थामा चुनावबाट नै आफ्नो मत अभिव्यक्त गर्ने हो भन्ने पनि तिनले बुझेका छन् । राजालाई गुहार गर्नेहरू अहिले चुनावका मुखमा पनि छैनन् । आमनिर्वाचन हुन अझै दुई वर्ष नौ महिना जति बाँकी नै छ ।

वंशवादले मात्र अस्तित्वमा रहेको र कसैको वंशीय उत्तराधिकारले मात्र राष्ट्र प्रमुख हुन पाइने व्यवस्था कुनै वैज्ञानिक पद्धति होइन । जनतालाई थाहा छ, स्वयं वैदिक पद्धतिका हिमायतीले पनि बुझेका छन्, कसैका कोखमा जन्मँदैमा ईश्वरको वा देवताको कुनै रूप हुनै सक्दैन । तिनले बोक्ने चन्द्रसूर्याङ्कित राष्ट्रिय झन्डामा मात्र भावुक भएर तिन करोड जनताले साथ दिन सक्दैनन् । त्यसैले त्यो समुदाय जोरजुलुम गर्दै एकोहोरो ढिपीमा लागेको लाग्यै छ ।

भ्रष्टाचार, राजनीतिक अस्थिरता, आर्थिक दुर्गति, युवाहरूको विदेश पलायन, सङ्घीयताले ल्याएको विकृति र अत्यधिक व्यय, सबै क्षेत्रमा छाएको निराशा र जनताको असन्तुष्टिलाई राजा वा राजतन्त्रवादीहरूले पुँजीकृत गरेर गणतन्त्रात्मक व्यवस्थाविरुद्ध प्रहार गर्दै त्यसका विकल्पमा राजतन्त्रलाई पुनःस्थापना गर्ने मनशायलाई गणतन्त्रवादी राजनीतिक दल र सरकारले बेवास्ता गर्न भने मिल्दैन ।

गणतन्त्रमा सभ्य भाषामा कसैको विरोध वा समर्थन गर्न पाउने अधिकार सबै नागरिकको अधिकार कुरा हो । कसैको हकमाथि अर्काले सम्मान गर्न पनि सक्नुपर्छ । कसैले आफ्ना समर्थक बढाउन र बटुल्न सक्छ । यो व्यक्ति, नागरिक, समूह र दलको अधिकारको कुरा पनि हो, जुन ‘नेपालको संविधान’ मा स्पष्टै उल्लेख गरिएको छ । तथापि जुन व्यवस्थाले कसैका पक्ष वा विपक्षमा बोल्ने–लेख्ने वा विरोध–समर्थन गर्ने अधिकार दिएको छ, उसैको विरोध गर्नु चाहिँ असङ्गतिपूर्ण नै मानिनुपर्छ ।

अँ, सरकारमा बसेका वा दलका नेता भइटोपलेकाहरूले दिने भाषणका भरमा मात्र नेपाली जनता सन्तुष्ट हुने र सुखी हुने होइन भन्ने कुरा तिनै राज्याधिकारी वा पदाधिकारीले बुझ्नुपर्ने कुरा हो । उखानटुक्का र भाषणले अघाइने पनि होइन । जनतालाई केही हुँदै छ र हुने छ भन्ने सुनिश्चितता पनि दिलाउन सक्नुपर्छ ।

राजावादीका गतिविधिलाई सेना वा प्रहरीको घेरामा बसेर खिसिट्युरी मात्र गर्ने वा ‘रोड सो’ र ‘माग्ने राजा’ को चलचित्रको छायाङ्कन भनी होच्याउने तर जनताका पक्षमा सिन्को नभाँच्ने प्रवृत्तिले साँच्चिकै पूर्वराजा नारायणहिटी प्रवेश गरे भने के गर्ने भनी समयमै, तुरुन्तै गृहकार्य नगर्ने हो भने गणतन्त्रलाई टिकाउन मुस्किल हुने छाँट देखिँदै छ ।

नेपाली कांग्रेसकै नेता डा शेखर कोइरालासमेत हौसिएर पूर्वराजालाई राजा नै भन्छु भन्ने भनाइले आफ्नै गोडामा बन्चरो हान्नु होइन र ? देश कताबाट कता जाँदै छ, राम्रोसँग दृष्टि पु¥याउन सरकार, दल, बुद्धिजीवी र नागरिक समाजलाई चेतना भया !

प्रतिक्रिया दिनुहोस्