
काठमाडौं । नेपाली कांग्रेसभित्रको गुटको लडाइँ विद्यार्थी संगठनहरुमा पुग्दा त्रिभुवन विश्वविद्यालय अन्तर्गत ६२ मध्ये १६ आंगिक क्याम्पसको स्ववियू निर्वाचन अवरुद्ध भएको छ ।
त्रिवि अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा चैत ५ गते मंगलबार स्ववियु निर्वाचन गर्ने तालिका छ । देशभर त्रिविका ६२ आंगिक तथा हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् । तर विद्यार्थी द्वन्द्वका कारण उपत्यकाभित्र र उपत्यकाबाहिर गरी १६ आंगिक क्याम्पसको निर्वाचन प्रक्रिया बिथोलिएको हो ।
उपत्यकामा केन्द्रीय क्याम्पस कीर्तिपुर, पद्मकन्या क्याम्पस बागबजार, पब्लिक युथ क्याम्पस धोबीचौर, शंकरदेव क्याम्पस बागबजार, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग, नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, त्रिचन्द्र क्याम्पस घण्टाघर र सरस्वती क्याम्पस ठमेलमा निर्वाचन प्रक्रिया रोकिएको त्रिविले जनाएको छ । पद्मकन्या क्याम्पसमा भने चैत ७ गते निर्वाचन हुने सहमति भएको छ ।
यीमध्ये नेपाल ल र विश्वभाषा क्याम्पसमा अखिल क्रान्तिकारी तथा अन्य क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको त्रिविले जनाएको छ । त्यस्तै उपत्यकाबाहिरका सिद्धनाथ क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, तेह्रथुम क्याम्पस, रारा बहुमुखी क्याम्पस, महेन्द्र मोरङ क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पसमा पनि निर्वाचन बिथोलिएको छ।
विवाद उत्पन्न भएकामध्ये धेरै जसो क्याम्पसमा कांग्रेसनिकट नेविसंघभित्रको आन्तरिक विवाद मुख्य देखिएको छ । केही क्याम्पसमा अन्य विद्यार्थी संगठनबीको विवादले पनि निर्वाचन प्रक्रिया रोकिएको छ । कांग्रेसभित्र संस्थापन पक्ष, डा.शेखर कोइराला पक्ष र महामन्त्री गगन थापा पक्षबीच विश्वविद्यालयमा प्रष्ट तीनधार देखिएको छ ।
अझ केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत कतिपय क्याम्पसमा कृष्ण प्रसाद सिटौला गुट समेत निस्किएपछि स्ववियू निर्वाचन बिथोलिएको हो । निर्वाचन प्रक्रिया अवरुद्ध भएकामध्ये अधिकांश क्याम्पसमा तालाबन्दी गरिएका छन्