काठमाडौं । दुई जनाको ज्यान जाने गरी काठमाडौको तिनकुनेमा हिंसा भड्किदा गृहमन्त्रालय खाली देखिएको थियो । त्यस दिन गृहमन्त्री र गृहसचिव र गृहका जिम्मेवार व्यक्तिहरु मन्त्रालयमा देखिएका थिएनन । यसबाट उनीहरुले राजावादीको आन्दोलनलाई नजरअन्दाज गरेको स्पष्ट देखियो । आन्दोलनबाट ठूलो क्षति भएपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा समेत जिम्मेवार व्यक्तिहरु उपस्थित थिएनन् ।

मन्त्री रमेश लेखक दिउँसै क्वार्टरमा पुगेका थिए । दिउसो केही बेर नेपाल प्रहरीका आइजीपी, सशस्त्र प्रहरीका आइजीपीसँग बसेका मन्त्री लेखक दिउँसो मन्त्रीक्वार्टरबाट निस्किएनन् भने गृहसचिव गोकर्णमणी दुवाडी पनि दिउँसै मन्त्रालय छाडेर हिडेका थिए । साँझसम्म मन्त्रालयमा प्रशासन विभागका प्रमुख सहसचिव छवि रिजाल मात्रै थिए । उनले नै पत्रकार सम्मेलन गरेर शान्ति सुरक्षामा कमजोरी भएको लाचारी प्रस्तुत गरेका थिए ।
१५ गतेको सभामा राजावादीहरुले बितण्डा मच्चाउन सक्छन् भन्ने आकलन गरिए पनि गृह मन्त्रालय गम्भीर भएन । गृहमन्त्री, सचिवजस्ता जिम्मेवार मन्त्रालयमै बसेर निर्देशन दिनुको साटो घर जानुलाई गम्भीर लापरवाही मान्नुपर्छ । यस विषयमा प्रधानमन्त्रीले गृहमन्त्रीसँग स्पष्टीकरण सोध्नुपर्ने कुरा गृहकै कर्मचारीले बताएका छन् ।
सहसचिव रामचन्द्र तिवारी भने गत बुधबार नै पोखरा पुगेका थिए । पोखरामा नेपाल–भारतबिच सीमा व्यवस्थापनबारे गृह मन्त्रालयका सहसचिवस्तरीय बैठक बसेको थियो । बैठकको नेतृत्व उनै तिवारीले गरेका थिए । नेपालले औषधिजन्य लागुऔषधको नियन्त्रण र रोकथामबारे भारतसँग कुरा उठाएको थियो । बैठकमा भारतबाट औषधिजन्य लागुऔषधको बढी नेपालतर्फ तस्करी हुने गरेको र यसले दुई देशमै लागुऔषधका प्रयोगकर्ता बढेको नेपाली पक्षले कुरा उठाएको छ ।
सीमा व्यवस्थापनबारे संयुक्त कार्य समूह (जेडब्लुजी)को १३औँ बैठक आन्दोलनकै दिन सकिएको थियो । नेपालका तर्फबाट गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले बैठकको नेतृत्व गरेका् । थिए । भारतबाट पनि गृह मन्त्रालयका सहसचिव नेतृत्वको १९ सदस्यीय प्रतिनिधिमण्डल बैठकमा सहभागी भएका थिए ।











