काठमाडौं । मुलुकको जेठो र ठूलो काठमाडौं महानगरपालिका यतिबेला अस्तव्यस्त भएको छ । संघीय सरकारले पठाएको प्रशासकीय अधिकृतलाई कानुन विपरित आफै भ्रष्टाचारी करार गरेपछि तीन महिना यता प्रशासकीय अधिकृतविहिन भएपछि अस्तव्यस्त भएको हो ।

प्रशासकीय अधिकृत सरोज गुरागाँइलाई काठमाडौ भ्यूटावरको तला थप्न दिएको अनुमतिको विषयमा चार्ज लगाएर कार्यालयमा हाजिर नगराएपछि संघीय सरकार र महानगरबीच द्वन्द सिर्जना भएको थियो । अहिले त्यही द्वन्द बढेर कर्मचारीहरुले बालेन साहको भूमिका ठिक नभएको भन्दै आन्दोलनको तयारी गरेका छन् ।
कर्मचारी संगठनहरुले मेयर बालेन शाहले अभिभावकीय भूमिका नदेखाएको र अनधिकृत व्यक्तिको मौखिक आदेशबाट काम गर्न कर्मचारीलाई दबाब दिइएको भन्दै संयुक्त वक्तव्य जारी गरेर आन्दोलनको तयारी गरेका हुन् । बालेन साहले खासगरी महानगर प्रहरीलाई परिचालन गरेर शासन गर्न खोजेकाले पनि यस्तो द्वन्द उत्पन्न भएको कर्मचारीहरुको आरोप छ ।
महानगरमा रहेका चारवटा कर्मचारी संगठनहरुले वक्तव्य जारी गर्दै महानगर प्रमुख जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले समन्वयात्मक भूमिका खेल्नुको साटो उत्तेजित शब्दावली प्रयोग गरेर थप समस्या सिर्जना गरिरहेको आरोप लगाएका छन् । प्रशासकीय अधिकृतलाई अपमाजनक ढंगले काम गर्न रोक लगाएर मेयरले समस्या सिर्जना गरेको भन्दै उनीहरुले ५ दिनभित्र कर्मचारीका माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले व्यक्तिको मौखिक आदेश निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा अहिलेको समस्या पैदा भएको र अनधिकृत व्यक्तिहरुबाट कर्मचारीलाई त्रास सिर्जना गरिएको समेत बताएका छन् । कर्मचारीले ५ महिनादेखि तलब नपाएको तर समस्या समाधानमा मेयर गम्भीर नभएको उनीहरुको आरोप छ । उनीहरुले कर्मचारीको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन ५ दिनको अल्टिमेटम दिएका हुन् ।
विज्ञप्तिमा स्थानीय तह कर्मचारी यूनियनका अध्यक्ष नरवहादुर साउद,स्थानीय तह कर्मचारी संघ नेपालका महासचिव शम्भु बराल,परिषद अध्यक्ष उत्तम कुमार घले र सफाइ श्रमिक संघकी अध्यक्ष रमिला पुजारीले हस्ताक्षर गरेका छन् ।
मेयर शाहले प्रशासकीय अधिकृत गुरागाईमाथि कानुन विपरित छानवीन समिति गठन गरी विभिन्न आरोप लगाएर कार्यालय प्रवेशमा रोक लगाएपछि महानगरपालिका प्रशासकीय नेतृत्वविहीन अवस्थामा छ । गुरागाईमाथि छानविन गर्न गठित समितिले उनी दोषी नदेखाए पनि मेयरले अर्को प्रशासकीय अधिकृत मागेको तर संघीय सरकारले अहिलेलाई गुरागाइ नै प्रशासकीय अधिकृत भएको जनाएपछि महानगरको कामकाज ठप्प भएको छ ।
मेयरको इगोका कारण कर्मचारीले तलब नपाएको,पुर्वाधारको काम ठप्प भएको र महानगरको प्रशासकीय काम नभएको भन्दै कर्मचारीले आन्दोलनको चेतावनी दिएका हुन् । अहिले मेयर बालेनले प्रधानमन्त्री केपी ओलीलाई गाली गरेर सामाजिक सञ्जालमा आफूलाई वाहवाही मात्र कमाइरहेको कुनै पनि काम नगरेको महानगरभित्रका कर्मचारीले बताउन थालेका छन् ।