Logo
Logo

डलर तस्कर पक्राउ, भेप तस्करलाई उन्मुक्ति


1.7k
Shares

काठमाडौं । नेपालबाट ठूलो परिणाममा विद्युतीय चुरोट (भेप) तस्करी हुने गरेको भएपनि त्यसमा व्यापारीलाई जोगाउने काम भैरहेको छ । डलर तस्करीको मालिक पत्ता लागेपनि विद्युतीय चुरोट (भेप) तस्करीमा कसको संलग्नता रहेको छ भन्ने अझै खुल्न नसकेको भन्दै जोगाउने काम भैरहेको छ । प्रहरीले गत साता (बुधबार) २५ करोड डलर तस्करीमा सिन्धुपाल्चोकका नारायण पौडेलको संलग्न खुलाएपनि अहिलेसम्म भेप तस्करीबारे मौन रहेको छ ।

अहिले पनि शील्क ट्रान्सपोर्टले चीनबाट ल्याएको एक कन्टेनर विद्युतीय चुरोट (भेप) तातोपानी भन्सारको गोदाममा राखिएको छ । भेपको जाँचपास नहुने भएकाले ट्रान्सपोर्टकै अनुरोधमा ९ सय ८० कार्टुन भेप भन्सार गोदाममा राखिएको बताइपनि त्यसका मालिक को हुन भन्ने केही खुलेको छैन । भेप राखिएको कार्टुनलाई सुरक्षा दिएर गोदाममा थन्क्याएको छ । शील्क ट्रान्सको अनुरोधमा भेपलाई गोदाममा राखेर सुरक्षा दिइएको भएपनि मालिक को हुन र कहाँ लैजान ल्याएको हो भन्ने केही जानकारी नभएको भन्सार स्रोतले जनाएको छ । ‘भेपको मालिकको बारेमा केही जानकारी छैन’, स्रोतले भन्यो ‘यो पनि सुन तस्करी जस्तै हुने भो ।’

यसअघि पनि नियन्त्रणमा लिएको २ सय कार्टुनभन्दा बढी भेप भन्सारले गोदाममा राखेको थियो । केही दिन अघि तातोपानी नाकाबाट आएको करिब ९ सय थान भेप इलाका प्रहरी कार्यालय बाह्रबिसे र सशस्त्र प्रहरी बल लामोसाँघुले अरनिको राजमार्ग भएर काठमाडौं आउँदै गरेको अवस्थामा बरामद गरेर राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको थियो ।

राजस्व अनुसन्धान विभागले गत पुसमा भने काठमाडौं इमाडोलस्थित शील्क ट्रान्सपोर्टको गोदामबाट भन्सारबाट जाँच पास नभएको ८६ हजार थान भेप बरामद गरेको थियो । राजस्वले २० करोड १६ लाख बैंक ग्यारेन्टी लिएर भेपसँगै पक्राउ परेका गोदामका कर्मचारीलाई गत फागुनमा हिरासत मुक्त गरेपछि अर्को भेप बरामद भएको हो ।

बैंक ग्यारेन्टीको व्यवस्थापन शील्कका कर्मचारी विजय शेर्पाले मिलाएका थिए । शील्क ग्रुपका अध्यक्ष रमेश शेर्पा हुन् । शील्क कम्पनीले मुख्यतः चीनबाट व्यापारिक मालवस्तु पैठारी गर्ने ट्रान्सपोर्टको काम गर्दै आएको छ । भन्सार गोदाम व्यवस्थापनको जिम्मेवारी पाउने निजी क्षेत्रको कम्पनी मध्येको एउटा हिस्सेदार शील्क पनि हो । भेप पनि शील्कले नै कन्टेनरमा राखेर भन्सारमा ल्याएको थियो ।

भेप गत आर्थिक वर्षसम्म वैधानिक रुपमा आयात हुने गरेको थियो । चीनसँग जोडिएको रसुवा र तातोपानीबाट आयात हुने भेपबाट गत आर्थिक वर्षमा २३ करोड भन्दा बढी राजस्व संकलन गरेको थियो । गत बैशाखमा स्वास्थ्य मन्त्रालयले गरेको पत्राचारका आधारमा भन्सारहरुले भेपको जाँच पास गर्न सकेका छैनन् । आयात–निर्यातको अनुमति दिने बाणिज्य विभागले भने कुनै बन्देज लगाएको छैन । स्वास्थ्य मन्त्रालयको पत्राचारको आधारमा जाँच पास रोकिँदै आएको छ ।

जाँचपास रोकिएपछि चोरी पैठारी बढेका थियो । पछिल्लो समय मुस्ताङको कारोला नाकाबाट पनि भेपको चोरी पक्राउ भएको थियो । प्रहरीले गत पुसमा मुस्ताङबाट १९ हजार थान भेप बरामद गरेको थियो । भेप बोकेको ट्रक रोक्दा सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षकलाई ठक्कर दिएपछि मृत्यु भएको थियो । त्यतिगर्दा पनि तस्करहरुले उन्मुक्ति पाएपछि अहिले भेप तस्करी बढेको मात्र होइन खुला गर्नुपर्ने लविङ पनि शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्