Logo
Logo

सञ्चालकहरूको सेयर बिक्रीमा एक वर्षको प्रतिबन्ध हटाउन माग


378
Shares

काठमाडौं ।  नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग शुक्रवार भेटवार्ता गर्दै बीमा क्षेत्रमा देखिएका नीतिगत समस्याहरूप्रति ध्यानाकर्षण गराएको छ।

सङ्घका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई बधाई तथा शुभकामना ज्ञापन गर्नुका साथै हालको नीति सम्बन्धी केही विषयमा आफ्ना चिन्ताहरू व्यक्त गरेको हो ।

भेटका क्रममा सङ्घले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को नियम ३८ (१ क) अन्तर्गत सञ्चालकले पदमा रहेकै वा राजीनामा दिएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर बिक्री गर्न नपाउने व्यवस्था अत्यन्त अव्यवहारिक रहेको जनाएको छ ।

सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चालकहरू पनि अन्य सेयर धनी सरहकै लगानीकर्ता हुन्। उनीहरूलाई पदमा रहेका वा अवकाश पाएपछि सेयर बिक्री गर्न नदिने प्रावधान लगानी स्वतन्त्रतामाथिको हस्तक्षेप हो।’

सङ्घले सञ्चालकले पदमा रहँदासम्म स्वामित्वमा रहेको सेयरको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गर्न आग्रह गरेको छ । अध्यक्ष मल्लका अनुसार, ‘लगानीकर्ताको हैसियतमा सञ्चालक र अन्य सेयर धनीको वित्तीय स्वार्थमा कुनै भिन्नता छैन । सञ्चालकहरूले पनि आफूले लगानी गरेको सम्पत्ति प्रयोग गर्न पाउनुपर्छ ।’

सङ्घले वर्तमान व्यवस्थाले सेयर कारोबारमा अवरोध सिर्जना गर्दै लगानी वातावरणमा प्रतिकूल असर पार्ने बताएको छ । साथै, यसले वैदेशिक लगानीमा समेत नकारात्मक प्रभाव पार्न सक्ने अध्यक्ष मल्लको भनाइ छ।

त्यसैगरी, सङ्घले नेपाली पुनर्बीमा कम्पनीहरूलाई दिइँदै आएको अनिवार्य प्रत्यक्ष हिस्साको व्यवस्था समेत ऐनको मर्म विपरीत भएको भन्दै पुनर्विचार गर्न आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्