
काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वल्र्ड कार अवार्ड कार्यक्रमअन्तर्गत ‘वल्र्ड अर्बन कार अफ द इयर’को उपाधि जित्न सफल भएको छ ।
अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो ।
यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बीवाईडी सिगलले ओसन एस्थेटिक्स डिजाइन दर्शनलाई समेटेको छ – जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ। उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी–फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ ।
बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले यसपटक वल्र्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरुलाई यस कारको अग्रगामी डिजाइन, अतुलनीय अर्बन मोबिलिटी परफर्मेन्स र युनिभर्सल मार्केट अपिलले प्रभावित गरेको बताइन् ।
उनले भनिन्, ‘बीवाईडी सिगललाई वल्र्ड अर्बन कारकों रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो। यसले हामीले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्छ ।’
पछिल्ला वर्षहरूमा बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ। २०२४ मा बीवाईडी डल्फिनले पनि वल्र्ड अर्बन कारकै शीर्ष ३ मा स्थान बनाएको थियो भने बीवाईडी सिल वल्र्ड कार अफ द इयरको शीर्ष ३ मा पर्न सफल भएको थियो ।
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले बीवाईडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ । कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने बताइएको छ ।