सिड्नी । नेपाली साहित्यकी नक्षत्र पारिजातको ८८औँ जन्मजयन्तीको अवसरमा नई एकेडेमी अस्ट्रेलियाले सिड्नीमा विविध विधामा पुरस्कार वितरण गर्दै विशेष समारोह आयोजना गरेको छ ।
गुइल्डफोर्ड कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा साहित्य, पत्रकारिता र युवा विधातर्फ विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिएको छ । साहित्यतर्फ ‘नई पारिजात अवार्ड’ लेखक रामप्रसाद कोइरालालाई प्रदान गरिएको हो । उनलाई पाँच सय अस्ट्रेलियन डलर नगदसहित प्रमाणपत्र प्रदान गरियो ।

पत्रकारितातर्फ, ‘नई पारिजात महिला पत्रकारिता अवार्ड’ मेलबर्नकी निरु त्रिपाठी र सिड्नीकी सीता रसाइलीलाई प्रदान गरिएको छ।
१२ देखि २४ वर्ष उमेर समूहका युवाहरूमध्ये विभिन्न विधामा योगदान पु¥याउने प्रतिभालाई ‘नई युथ अफ दि इयर अवार्ड’ प्रदान गरिएको थियो। साहित्यतर्फ नेपालकी मोक्षदा अम्गाईं, गीत–संगीततर्फ सन्देश पौडेल, नृत्यतर्फ मेलबर्नकी गोरीमा रायमाझी र सिड्नीका सीमोन श्रीपाली, खेलकुदतर्फ सिड्नीकी मिया पुन तथा संस्थागत सम्मानतर्फ शब्दमाला स्कुल सिड्नीलाई पुरस्कृत गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रम नई एकेडेमी अस्ट्रेलियाकी संस्थापक एवं अध्यक्ष सीमा रोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपकुलपति एवं नई प्रकाश नेपालका संस्थापक इन्दिरा प्रसाई, अन्तर्राष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष तथा नेपाल जेसिजका पूर्व अध्यक्ष, समाजसेवी एवं साहित्यकार अनुपमान सैंजु लगायतले सम्बोधन गरेका थिए। उनीहरूले प्रवासबाट पनि नेपाली साहित्य, कला र युवा प्रतिभा विकासमा नई एकेडेमीको योगदान उल्लेखनीय रहेको बताएका थिए।
साथै, अनेसास अध्यक्ष डा। प्रकाश पौडेल, फेन्का अध्यक्ष डा। मधुसुधन पुडासैनी, शब्दमाला स्कुल सिड्नीका अध्यक्ष विष्णु घिमीरे, रुपन्देही सामाजिक सञ्जालका संरक्षक मुक्ति पोखरेल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा सञ्चालन उपाध्यक्ष प्रज्ञा पनेरु र सचिव प्राञ्जली खड्काले गरेका थिए ।
नई एकेडेमी अस्ट्रेलियाले स्थापना कालदेखि नै नेपाली–अस्ट्रेलियाली र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई कला, साहित्य, संगीत, खेलकुद, स्वास्थ्य, मानसिक स्वास्थ्य, घरेलु हिंसा न्यूनीकरण, विज्ञान, प्रविधि तथा सामाजिक सेवाजस्ता विभिन्न क्षेत्रहरूमा विशेष योगदान गरेबापत सम्मान गर्दै आएको छ।
नेपालमा स्थापित नई प्रकाशनको वैदेशिक संस्करणका रूपमा सन् २०२२ डिसेम्बर १६ मा अस्ट्रेलियामा स्थापित नई एकेडेमी अस्ट्रेलियाका संस्थापक अध्यक्ष सीमा रोशीले संस्था स्थापनाका लागि ५ हजार डलरको योगदान गरेबापत संस्थाले उनलाई समेत सम्मानित गरेको थियो।