Logo
Logo

आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीको प्रश्न- ऐन बोक्न सडकमा त्यत्रो मान्छे चाहिन्छ ?


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा ऐनबिना विद्यालय नफर्किने अडानमा रहेका शिक्षकहरुप्रति व्यंग्यात्मक टिप्पणी गर्दै ऐन बोक्न यत्रो मान्छे सडकमा चाहिन्छ भनेर प्रश्न गरेका छन्।

सोमबार कीर्तिपुरमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ऐन ल्याएको जस लिनलाई सडकमा आउन आवश्यक नरहेको समेत बताए ।

उनले भने, ‘अब ऐन लिएर जाने भन्नु भएको छ, यत्रोविघ्न मान्छे सडकमा किन ? ऐन बोक्न यत्रो मान्छे चाहिन्छ ? ऐन त संसद्‍मा छलफल हुँदैछ। उपसमितिमा छ । त्यसपछि मुल हाउसमा आउँछ। संसद्‍बाट पारित हुन्छ। ऐन त आउँछ नै। यी सबै ऐन जति ल्याएका छन्, सडकमा मान्छे आएर आएका छन् ऐन ?’

ओलीले थपे, ‘हामीले ऐन ल्यायौं भन्ने पार्नका लागि यत्रो दुःख कि गर्नुपर्‍यो ? तपाईंहरुले नै ल्याएको हो ऐन। तपाईंहरु हुनुहुन्छ र त ऐन बन्यो नि । तपाईंहरु नभए ऐन कसरी बन्छ ?’

२० दिनदेखि काठमाडौँमा आन्दोलनरत शिक्षकहरुले पटक–पटक सरकारसँग वार्ता गरे पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने अडान राखिरहेका छन् । ऐन पास नभएसम्म काठमाडौँका सडक नछोड्ने अडान उनीहरूको छ ।

सरकारले भने ऐन बाहेकका विषय तत्कालै मन्त्रिपरिषद्‍बाट सम्बोधन गर्ने भन्दै शिक्षकहरुलाई आन्दोलन फिर्ता लिएर विद्यालयमा जान आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्