काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा देखिएको सुरक्षा कमजोरीबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले एसएसपी शेखर खनालको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

दुर्गा प्रसाईँ र नवराज सुवेदी नेतृत्वको समूहले गरेको प्रदर्शनमा झडप हुँदा पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गएको थियो । प्रदर्शनका क्रममा आगजनी, तोडफोड र सुरक्षा अवरोधजस्ता घटनाहरू पनि भएका थिए ।
प्रसाईँको गाडीले तीन तहमा राखिएको सुरक्षा सिल तोड्दै बागमती पुल पार गर्दा सुरक्षाकर्मी ‘मूकदर्शक’ बनेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । ट्राफिक कोन अड्किएपछि मात्र गाडी रोकिएको थियो ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि सुरक्षाकर्मीले मञ्चमै अश्रुग्यास प्रहार गरेका थिए, जसपछि स्थिति नियन्त्रणबाहिर गएको थियो । छानबिन समितिले सुरक्षाकर्मीको भूमिका, तयारी र कमजोरीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।











