नुवाकोट । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमालेबिचको मिलन भ्रष्टाचार जोगाउने उद्देश्यले भएको दाबी गरेका छन् ।

शुक्रवार नुवाकोटमा आयोजित वाईसीएल जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेपछि आफूहरू पनि फस्ने डरले कांग्रेस र एमाले आत्तिएर नजिकिएको बताए ।
‘अहिलेको सरकार भ्रष्ट, निरंकुश र षड्यन्त्रमूलक शैलीमा सञ्चालन भइरहेको छ,’ श्रेष्ठले भने, ‘कुलमान घिसिङलाई हटाउने, त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पार्ने लगायतका घटनाले सरकार दलाल र आफ्ना मानिसहरूलाई प्रोत्साहन गर्ने दिशामा मात्र लागिपरेको देखिन्छ ।’
श्रेष्ठले कांग्रेस र एमालेले देखाएको यथास्थितिवादी प्रवृत्तिले मुलुकलाई गम्भीर सङ्कटमा पुर्याएको आरोप लगाए । साथै, उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकारका जनविरोधी कदमहरूले प्रतिगमनको खतरा अझ बढेको दाबी गरे ।
उनले कांग्रेस र एमाले संविधान संशोधनको साझा एजेण्डामा एक भएका नभई, व्यक्तिगत र गुटगत स्वार्थ मिलाउनका लागि सघिएका हुन् भन्ने तथ्य पुष्टि भइसकेको बताए । साथै, प्रधानमन्त्री ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने भन्ने अभिव्यक्ति जनतामाथिको विश्वासमाथि गरेको ठुलो घात भएको टिप्पणी गरे ।











