काठमाडौं । भारतको जम्मु कश्मीरस्थित पहलगाममा हिन्दु तीर्थयात्रीहरूलाई लक्षित गरी गरिएको आतङ्ककारी आक्रमणप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले शनिवार एक समवेदना सन्देश जारी गर्दै आक्रमणमा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् । शाहका संवाद सचिव फणिराज पाठकद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ,’हालै भारतको जम्मु कश्मीर पहलगाममा भएको आतङ्ककारी आक्रमणका कारण धेरैजना हिन्दु तीर्थयात्रीहरूको दुःखद निधन भएकोमा हामी अत्यन्त दुःखी छौं । यस घटनामा एक नेपाली नागरिकको समेत निधन भएको खबरले हामीलाई झनै मर्माहत बनाएको छ ।’
पूर्वराजाले वसुधैव कुटुम्बकम् (पूरै विश्व नै एउटा परिवार हो) भन्ने सनातनी वैदिक सिद्धान्तलाई स्मरण गर्दै यस्ता आक्रमणहरूलाई धर्मविरुद्धको पाप कर्म बताएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘वसुधैव कुटुम्बकम्को आदर्शले मानवता र सहिष्णुताको मार्ग देखाउँछ । त्यस विपरीत गरिने यस्ता जघन्य अपराधहरू सम्पूर्ण हिन्दु समुदाय र विश्व मानवतामाथिको घात हो। यस्ता घटनाको जति भत्सना गरे पनि कम हुन्छ।’
शाहले यस्ता हिंसात्मक घटनाको विश्वव्यापी निन्दा र भत्सना हुनु आवश्यक रहेको धारणा समेत व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।












