
काठमाडौं । पूर्वी नवलपरासीको दाउन्नेमा एउटा ट्रक अनियन्त्रित भएर होटलभित्र छिरेको छ । आइतबार बिहान विनयीत्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा ना ५ ख ८६७१ नम्बरको ट्रक ब्रेक फेल भएर टहरामा सञ्चालित होटलभित्र छिरेको हो ।
मार्बल बोकेर नारायणगढबाट बुटवल जाँदै गरेको ट्रक दाउन्नेमा ब्रेक फेल भएपछि अनियन्त्रित भएर होटलभित्र छिरेको पूर्वी नवलपरासीका डिएसपी मधु नेपालले जानकारी दिए ।
अनियन्त्रित ट्रकले बिनानाथ पाध्यले संचालन गरेको धौलागिरी होटल एण्ड लज पूर्ण रुपमा भत्काएको छ । सँगै रहेको पवन लम्सालले संचालन गरेको होटलमा समेत आंशिक क्षति भएको डिएसपी नेपालले जानकारी दिए ।
घटनामा मानवीय क्षति भने नभएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ । ट्रकका चालक र सहचालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।











