Logo
Logo

रवि लामिछानेविरुद्धको ठगी मुद्दा सरकारी वकिलकहाँ पठाइयो


2.3k
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दा पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ । बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रवार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । दुई वटा मुद्दाको अनुसन्धान सकिएपछि कारबाहीका लागि विभिन्न कम्पनी तथा व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रतिवेदन अगाडि बढाइएको हो । 

यी मुद्दामा ३० जना व्यक्ति, तीन वटा सहकारी र ८ वटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाइएको  छ । २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गर्दै प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

त्यसमा कम्पनी र व्यक्तिको उत्तरदायित्वतर्फ १ अर्ब १२ करोड ६५ लाख २६ हजार ३९५ पैसा लिनुपर्ने माग गरिएको छ । यसैगरी स्वर्ण लक्ष्मी बहुउद्देश्य सहकारी संस्थासँग १ अर्ब १५ करोड ९१ लख ४४ हजार, सुर्यदर्शन सहकारी संस्थासँग १ करोड २० लाख र आसा एण्ड इन्टरनेशनल प्रालिसंग ३७ लाख ९० हजार ३७९ पैसा फिर्ता लिनु पर्ने प्रहरी प्रतिवेदनमार्फत माग गरिएको छ । 

संसदीय छानबिनको समितिले अनुसन्धान गरेर लामिछानेमाथि मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्देशन दिएपछि पर्सा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । 

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै लामिछानेसहितका व्यक्तिहरूमाथि मुद्दा दर्ता भएको थियो ।

२०८० साउन २१ गते ५२ जना, ०८० सालकै भदौ महिनामा २०७ जना र ०८१ सालको फागुन २ गते १७९ जनाले सानो पाइलाले रकम अपचलन गरेको भन्दै विभिन्न व्यक्तिलाई प्रतिवादी जाहेरी दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्