काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हाल देशभर लोडसेडिङ नभएको र आगामी दिनहरूमा पनि घरायसी उपभोक्ताहरूलाई लोडसेडिङको सामना गर्नु नपर्ने स्पष्ट पारेको छ । प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना र अतिरञ्जित हल्ला विरुद्ध गम्भीर ध्यानाकर्षण गर्दै, यी सबै भ्रम रहेको जनाएको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै भनेको छ कि अहिले लोडसेडिङ नभएको र यस प्रकारको आपूर्ति समस्या भविष्यमा पनि नआउने छ। प्राधिकरणले सबैलाई सचेत गराउँदै सामाजिक सञ्जालमा फैलिएका गलत समाचार र हल्लाबाट भ्रमित नहुन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार, अहिले नेपालमा विद्युत उत्पादन क्षमता ३,५१२ मेगावाट पुगेको छ। यसमा प्राधिकरणका स्वामित्वमा रहेका जलविद्युत आयोजनाबाट ६६२ मेगावाट, सौर्य ऊर्जा स्रोतबाट २५ मेगावाट, तापीय ऊर्जाबाट ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट र निजी क्षेत्रबाट उत्पादित २,१४९ मेगावाट विद्युत समावेश छ । यसरी देशभर विद्युत आपूर्ति सुदृढ भएको र लोडसेडिङको सम्भावना नरहेको प्राधिकरणले पुष्टि गरेको छ ।
हालका समयहरूमा आन्तरिक उत्पादन औसतमा १,१७५ मेगावाट छ, जबकि विद्युतको उच्चतम माग ९पिक लोड० २,०७७ मेगावाट पुगेको छ । यसमा १,५९३ मेगावाटको उत्पादन नेपालभित्रै सम्भव भएको छ र बाँकी ४८४ मेगावाट भारतबाट आयात गरिन्छ । भारतसँगको आपूर्ति सञ्जाल राम्रोसँग सञ्चालन भइरहँदा विद्युत आपूर्तिमा कुनै ठूलो अवरोध आएको छैन ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, गर्मी याम सुरु भएसँगै भारतमा विद्युतको मागमा वृद्धि आएको छ । यसले गर्दा रातको समयमा विद्युत आयातमा केही चुनौतीहरू उत्पन्न भएको भए पनि प्राधिकरणले घरायसी उपभोक्तालाई २४ घण्टा विद्युत आपूर्ति गर्दै आएको छ । उद्योगहरूले पनि अधिकांश समयमा विद्युत प्राप्त गरिरहेका छन् ।
तर, प्राधिकरणले हालको मौसम (प्रि–मनसुन) का कारण कतिपय स्थानहरूमा आँधी, हुरी, चट्याङ र अविरल वर्षाले विद्युत संरचनामा क्षति पुर्याइरहेको जनाएको छ । यसले गर्दा केही स्थानहरूमा अस्थायी विद्युत अवरोध देखा पर्न सक्छ । साथै, मर्मतसम्भार, भूमिगत लाइन विस्तार र सडक तथा खानेपानीको निर्माण कार्यका कारण पनि कतिपय स्थानमा विद्युत आपूर्ति अस्थायी रूपमा बन्द हुन सक्छ । प्राधिकरणले यी अवस्थाहरूको बारेमा उपभोक्ताहरुलाई अग्रिम सूचना दिएको छ ।
प्राधिकरणले भारतसँगको आपूर्ति सञ्जाल स्थिर रहेको र नेपालको नदीमा पानीको बहाव बढ्ने भएकाले विद्युत आपूर्ति सहज हुने आशा व्यक्त गरेको छ । यसका साथै, औद्योगिक ग्राहकलाई बेलुका समयमा विद्युतको खपत घटाउने सुझाव पनि दिइएको छ ।











