काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाबीच पछिल्लो समय जुहारी चलेको छ । प्रधानमन्त्री ओली र गगनबीचको तीखो जुहारीले सत्तापक्षभित्रको असन्तुष्टिलाई थप उजागर गरेको छ ।
यो विवादको केन्द्रमा छ गगन थापाको एक अभिव्यक्ति, जसमा उनले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको ‘बेडरुमसम्म’ पुगेको दाबी गरेका थिए । यो अभिव्यक्तिप्रति प्रधानमन्त्री ओलीले कडा आपत्ति जनाउँदै प्रमाण पेस गर्न चुनौती दिएपछि यो जुहारीले नयाँ मोड लिएको छ ।

यो जुहारीको सुरुवात गत वैशाख २ मा गगन थापाले दिएको एक अभिव्यक्तिबाट भएको हो। उनले सत्तारूढ गठबन्धनको कार्यशैलीमाथि प्रश्न उठाउँदै बिचौलियाहरूको प्रभाव सरकारको उच्च तहसम्म, विशेषगरी प्रधानमन्त्रीको निजी क्षेत्रसम्म पुगेको आरोप लगाएका थिए ।
थापाल भनेका थिए– ‘हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’
यो अभिव्यक्तिले सत्तापक्षमा ठूलो हलचल मच्चायो । प्रधानमन्त्री ओलीले आज (आइतबार) यो अभिव्यक्तिको जवाफ दिँदै कडा शब्दमा प्रतिवाद गरे । उनले गगन थापालाई लक्षित गर्दै भने, ‘कोही यस्तरी धतुङ्गाएर बोल्छन्, प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच पुग्या छ । दया लाग्छ तिनका त्यस्ता शब्दहरू सुन्दा । के बोलेको त्यो ? त्यस्ता कुराहरू प्रमाणित गर्न सक्छन्, तर बोलेका छन्, बिचौलिया बेडरुमसम्म आएको ? यस्तो गम्भीर आरोप लगाउँदा प्रमाणित गर्न सकिन्छ ? यदि सकिन्छ भने प्रमाण पेस गर्नुस्, नत्र यस्ता गैरजिम्मेवार कुरा नबोल्नुस् ।’
सत्तारूढ नेकपा (एमाले) र कांग्रेसको स्थापन पक्षले गगन थापाको अभिव्यक्तिलाई ‘गैरजिम्मेवार र आधारहीन’ भन्दै खण्डन गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले भने, ‘गगन थापाले सस्तो लोकप्रियताका लागि यस्ता गम्भीर आरोप लगाएका छन्। उनले प्रमाण पेस गर्न नसके माफी माग्नुपर्छ ।’
ओली र गगनबीचको जुहारी यो पहिलो पटक होइन, यसअघिदेखि नै बारम्बार जुहारी चल्दै आएको छ । विगतमा पनि गगन थापाले ओली सरकारको कार्यशैलीमाथि कडा आलोचना गर्दै आएका छन् ।
आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गरेको विषयमा थापाले ओली सरकारलाई ‘राजतन्त्रको अवशेष’ को संज्ञा दिएका थिए । यस्तै, ओलीको नामलाई ‘खड्गप्रसाद ओली’बाट ‘कीर्तेप्रसाद ओली’ भन्दै कटाक्ष गरेका थिए, जसले ठूलो विवाद निम्त्याएको थियो ।
ओली र गगनको जुहारीले वर्तमान सत्ता गठबन्धनमा पनि तनाव सिर्जना गरेको छ । कांग्रेस र एमालेको संयुक्त सरकारमा गगन थापाको अभिव्यक्तिले खटपट ल्याउने संकेत देखिएको छ । गठबन्धनको दुईदलीय संयन्त्रमा थापा पनि सदस्य छन्, यस विवादका कारण प्रभावित हुन सक्ने विश्लेषकहरूको अनुमान छ । यस्तै, प्रतिपक्षी दलहरूको पनि यो अवस्थालाई सरकारमाथि दबाब बढाउने अवसरका रूपमा प्रयोग गर्न सक्ने देखिन्छ ।
सामाजिक सञ्जाल र सडकमा यो विवादले ठूलो चर्चा पाएको छ । कतिपयले गगन थापाको अभिव्यक्तिलाई सरकारको कमजोरी उजागर गर्ने साहसिक कदम मानेका छन् भने कतिपयले यसलाई अनावश्यक व्यक्तिगत आक्षेप ठानेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यो जुहारीले गगन थापालाई कांग्रेसभित्र भावी नेतृत्वको दाबेदारका रूपमा थप बलियो बनाउन सक्छ । तर, यदि उनले आफ्नो आरोप पुष्टि गर्न सकेनन् भने उनको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र गगन थापाबीचको यो जुहारीले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको छ। बिचौलियाको प्रभाव, सरकारको पारदर्शिता र सत्ता गठबन्धनको स्थायित्व जस्ता मुद्दाहरू यो विवादले सतहमा ल्याएका छन् ।
अब यो विवाद कुन दिशामा जान्छ, त्यो गगन थापाले आफ्नो आरोपलाई कसरी पुष्टि गर्छन् वा सरकारले कसरी जवाफ दिन्छ भन्नेमा निर्भर रहनेछ ।