
काठमाडौं । प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले थापाको बेडरुमसम्म सर्वोच्चबाट भ्रष्टाचारी प्रमाणित व्यक्ति पुग्ने गरेको दाबी गरेका हुन् ।
केही दिनअघि गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए । सो प्रसंग उल्लेख गर्दै सांसद सिंहले आफ्नो आङको भैँसी नदेख्ने र अर्काको आङको जुम्रा देख्ने प्रवृति गगनमा रहेको दाबी गरे ।
‘कांग्रेसमा महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नुभयो । आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने ? सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको व्यक्ति उहाँको बेडरुममा छ,’ उनले भने, ‘कैद र जरिवाना दुवै पाइसकेको व्यक्ति उहाँको बेडरुममा छ । अहिलेसम्म कांग्रेसले उसलाई हटाउन सकेको छैन । किनकी नेपाली कांग्रेसलाई संविधान, नियम र कानूनको पालना गर्न आउँदैन ।’