काठमाडौं । गृहमन्त्री रमेश लेखकको ध्यान यतिबेला प्रहरीको सरुवा बढुवामा केन्द्रित भएको छ । भेगिए प्रहरीलाई आकर्षक स्थानमा पुर्याउने र जिम्मेवारी दिने तथा मापदण्डलाई वेवास्था गर्न थालेका छन् ।

सचिवालयमा रहेका कर्मचारी र राजनीतिक कार्यकर्ता मार्फत सरुवा बढुवा गरिएको छ । हालको व्यवस्था अनुसार पाँच महिनाका लागि आइजीपी भएका दीपक थापा मन्त्रीले जे जे भन्छन त्यही मानिरहेका छन् । उनले सुदुरपश्चिम प्रदेशका प्रहरी अधिकारीलाई मात्रै काखी च्यापेका छन् ।
सरुवा मापदण्डविपरित डिएसपी र प्रहरी निरीक्षकको सरुवा भएको छ । केही डीएसपीलाई दोहो¥याई–तेहे¥याई कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । सरुवाको सूचीअनुसार १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा हुँदा १४ जिल्लामा कार्यालय प्रमुख हेरफेर भएका छन् । कतिपय जिल्लामा कार्यालय प्रमुखका रुपमा खटाइएका डीएसपीले यसअघि सोही दर्जामा पटक पटक कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
डीएसपी दर्जामा ‘क’ श्रेणीका दुई कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसकेका मनोजित कुँवर फेरि सोलुखुम्बु सरुवा भएका छन् । त्यहाँका प्रमुख द्वारिकाप्रसाद घिमिरे सरुवा भएपछि कुँवर खटाइएका हुन् । घिमिरे निकै विवादित डिएसपी हुन् ।
‘क’ श्रेणीकै इप्रका मानिने सिराहास्थित लाहानको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसकेका भोलाकुमार भट्टले रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । त्यहाँका डीएसपी प्रदिपकुमार सिंह सरुवा भएर प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालय महाशाखा गएका छन् । भट्टलाई गृहमन्त्रालयको सचिवालयले विशेष जोड दिएर पठाएको छ । हाइड्रोपावरको जिल्ला भनेर चिनिने रामेछापमा उनको सरुवाले अर्थ राख्ने बताइएको छ ।
बाजुरा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा कार्यसम्पादनमा गम्भीर प्रश्न उठेपछि हटाइएका डीएसपीलाई यो सरुवामा अर्को जिल्लाको जिम्मेवारी दिइएको छ ।२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा बाजुराको बूढीगंगा गाउँपालिकाको निर्वाचनका क्रममा केही जिल्लामा कांग्रेस र एमालेका कार्यकर्ताले बुथ कब्जा गरेपछि जिल्ला प्रहरी कमाण्ड फितलो भएको निश्कर्षसहित डीएसपी सूर्यबहादुर थापा जिम्मेवारीबाट फिर्ता गरिएका थिए ।
उनलाई म्याग्दी जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । त्यहाँका डीएसपी भरत श्रेष्ठ प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख भरत लामालाई सरुवा गरेर वीरेन्द्रबीर विश्वकर्मालाई प्रमुखको जिम्मेवारी दिइएको छ । लामा नेपाल पश्चिम नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहामा खटाइएका छन् ।
ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्का सरुवा हुँदा मदन केसीले जिम्मेवारी पाएका छन् । जुम्लाका प्रमुख छेदीलाल कामतीलाई सरुवा हुँदा रवीनबाबु रेग्मीलाई त्यहाँको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीको सरुवा भएर इकबाल हवारीले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख नरेशकुमार सिंहलाई सरुवा गरेर हरिप्रसाद पौडेललाई प्रमुखको जिम्मेवारी दिदाँ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेलाई सरुवा गरेर बसन्तकुमार शर्मालाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमका प्रमुख माधवराज खरेलको सरुवा गरेर उमाशंकरप्रसाद यादवलाई प्रमुखको जिम्मेवारी दिइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख रवि रावललाई सरुवा गरेर वेदप्रसाद गौतमलाई प्रमुखको जिम्मेवारी दिइएको छ भने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालको सरुवा गरेर गणेशबहादुर बराललाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख सुर्यबहादुर बोगटीको सरुवा गरेर छिरिङकिप्पा लामालाई प्रमुखको जिम्मेवारी दिइएको छ भने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख हरिकृष्ण केसीको सरुवा गरेर डा.हेमबहादुर केसीलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रहरी निरीक्षकमा धनुषा ट्राफिकमा पनि गृहमन्त्रालयको दबाबबाट सरुवा गरिएको छ । अहिले सूर्यबहादुर शाही त्यहाँ पुगेका छन् । अनिलकुमार बैठालाई नाम्चे पठाइएको छ । जहाँ दोब्बर भत्ताको व्यवस्था रहेको छ ।











