काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ ।

माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसँग सहकार्य गरी २०८२ वैशाख १५ गते सोमबारदेखि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।
रेमिट्यान्स सम्बन्धी उक्त सम्झौतापत्रमा सिबिएल मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापछि अब मलेसियामा रहेका नेपालीहरुले सिबिएल मनी ट्रान्सफरका १५ वटा शाखा र सिबिएल मनी ट्रान्सफरको सिटी रेमिट एप बाट एमबीएल रेमिट गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै सिबिएल मनी ट्रान्सफर र सिटी रेमिट एपबाट एमबिएल रेमिट गरी पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ । मलेसियामा रहेका नेपाली कामदारहरूको सुबिधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप एमबिएल एमस्मार्टको सेवा पनि उपलब्ध गराएको छ ।
माछापुच्छ्रे बैंकले १६५ वटा शाखा, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरुमार्फत १७ लाखभन्दा बढि ग्राहकलाई सेवा दिइरहेको छ ।