काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ सार्वजनिक नतिजा अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले अनलाइनमार्फत प्रकाशित गरेको छ ।

डिभी विजेताहरूले सन् २०२५ को अक्टोबर १ बाट भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् । सन् २०२६ को सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसक्नुपर्नेछ । निर्धारित समयसीमाभित्र भिसा प्रक्रिया पूरा नगर्नेहरू स्वतः अयोग्य ठहरिने विदेश मन्त्रालयले जनाएको छ ।
गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ तारिखसम्म आवेदन दिएका आवेदकले अनलाइनमार्फत आफ्नो नतिजा जाँच गर्न सक्नेछन् । आवेदकहरूलाई कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न भनिएको छ ।
डिभी परे÷नपरेको थाहा पाउन आवेदकले आफ्नो कन्फर्मेशन नम्बरसँगै थर र जन्म मिति इन्ट्री गर्नुपर्नेछ । यी सूचनासहित अमेरिकी विदेश मन्त्रालयको वेबसाइट https://dvprogram.state.gov/ मा दिइएको यो लिंकमा क्लिक गरी नतिजा थाहा पाउन सकिनेछ । कन्फर्मेशन नम्बर, थर र जन्मेको वर्ष इन्ट्री गरेपछि छनौट भए/नभएको र भएमा अगाडि के गर्ने भन्ने प्रक्रिया थाहा हुनेछ ।














