Logo
Logo

भोलिदेखि नागढुङ्गा-नौबिसे सडक राति ५ घण्टा बन्द हुने


756
Shares

काठमाडौं । धादिङको नौबिसे–नागढुङ्गा सडक रातिका समय बन्द गरिने भएको छ । काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म बन्द गरिने भएको हो ।

रातको समय ५ घण्टा सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको धादिण्का सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।

काठमाडौँबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने छ । त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न नागढुङ्गा–मुग्लिन सडक योजना कार्यालयले आग्रह गरेको छ ।

साना तथा मझौला सवारीसाधनले सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक प्रयोग गर्न सक्नेछ । त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक हुँदै जान सकिने छ ।

एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन । ओभरट्याक नगरी बन्दको समयमा नियमपालना गरिदिन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्