काठमाडौं । ६,११९ मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी बल नेपालका जवान विजय जंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले विशेष सम्मान गरेका छन् ।

प्रधान कार्यालयमा आयोजित एक समारोहका क्रममा आईजीपी अर्यालले जंगमलाई सम्मानित गर्दै सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली क्षेत्रहरूमा खोज, उद्धार तथा सीमापार निगरानी कार्यमा दक्ष जनशक्ति विकासमा जोड दिइरहेको बताए । उनले मनाङ जिल्लामा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालयमार्फत हिमाली उद्धारमा दक्ष जनशक्ति उत्पादन भइरहेको जानकारी दिए ।
जवान जंगमले यही बैशाख १४ गते विहान ७:१२ बजे लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । उनी बैशाख २ गते काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपालमा हिमाल आरोहण गर्ने जंगम दोस्रो व्यक्ति हुन्। यसअघि सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए ।














