काठमाडौं । शुक्रबारको संसद् बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एकै लहरमा देखिएपछि एमाले पङ्क्तिमा तरङ्ग फैलिएको छ।
पूर्वएमाले नेताद्वय माधव र वामदेव हाल फरक–फरक राजनीतिक बाटोमा छन् । तर, राष्ट्रियसभा सदस्यसमेत रहेका वामदेव नेकपा एकीकृत समाजवादीका सांसदहरूसँगै बसेपछि एमाले नेतृत्वमा खैलाबैला मच्चिएको हो।

माधव र वामदेवको निकटता देखेपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै सांसद सुर्य थापालाई वामदेव निवास पठाएको चर्चा चलेको छ।
हिजो (शनिबार) बिहान वामदेवको भैंसेपाटीस्थित निवासमा पुगेका थापाले सामाजिक सञ्जालमा फोटोसहित प्युठानको विकासमा सहकार्य गर्ने समझदारी भएको उल्लेख गरेका छन् । तर, यो भेटलाई विश्लेषकहरूले वामदेवलाई नेकपा एकीकृत समाजवादीसँगको सम्बन्ध कमजोर पार्ने र ओलीसँग विश्वासको वातावरण बनाउने प्रयासका रूपमा हेरेका छन्।
यसअघि वामदेवले नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने तयारी गरेका थिए । माधवसँगको छलफलमा उनी उत्साहित देखिए पनि बीचमै ओलीले वामदेवलाई एमाले प्रवेशको आश्वासन दिएर वालुवाटार बोलाए । तर, ओलीले पार्टीभित्र वामदेवलाई भित्र्याउने निर्णय गराउन नसकेपछि वामदेव निराश भए । यसले ओलीप्रति उनको अविश्वास थप गहिरिएको छ।

पछिल्लो समय वामदेव र ओलीबीच संवादविहीनता थियो तर माधवसँगको निकटताले ओली फेरि वामदेवलाई रोक्न रणनीति बनाउन थालेका छन् ।
वामदेवले एमाले वा नेकपा एकीकृत समाजवादीमा सिफ्ट हुने सम्भावना खुला राखेका छन्। यदि वामदेव नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे भने राष्ट्रियसभामा यो दलको शक्ति बढ्नेछ। यही आशङ्काबीच ओलीले सुर्य थापामार्फत वामदेवलाई आफूतिर तान्ने प्रयास गरेको अनुमान छ। वामदेवको यो अन्योल र ओलीको रणनीतिले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने देखिन्छ।