Logo
Logo

भारत-पाकिस्तान युद्धबारे सांसदहरुले के भने ?


756
Shares

काठमाडौं । भारतले पाकिस्तानसँग युद्ध सुरु गरेको छ । बुधबार सबेरै पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानको विभिन्न स्थानमा हवाई आक्रमण गरेपछि भारत–पाकिस्तान तनाव चुलिएको छ ।

भारत–पाकिस्तान युद्धको विषय आज नेपालको संसद बैठकमा उठेको छ । दुई देशबीच चलेको युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गराएका छन् ।

बुधबार जारी प्रतनिधिसभाको बैठकमा सांसद सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको भन्दै आतंकवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताए । उनले कश्मीरके पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरे ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ्एनपी साउदले पनि यस विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउँछन् । हालै पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयमा समेत उनले उचित नरहेको बताए ।

छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको उनले बताए । उनले भने, ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो ।’

यस्तै, कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताए । उनले भने, ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालिन र दीर्घकालिन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस् ।’ सरकारले समयमै ख्याल गर्न आवश्यक रहेको उनको भनाइ छ ।

राजनीतिक दलका शीर्ष नेताहरू पनि यो विषयमा गम्भीर हुन आवश्यक रहेको उनले बताए । राजनीतिक दलका बीचमा राष्ट्रिय विषयमा एकता हुन आवश्यक रहेकोमा उनले जोड दिए ।

१५ निअघि २२ अप्रिलमा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तान आमुनेसामुने भएका छन् । पहलगाम आक्रमणमा पाकिस्तालाई दोषी देखाएर भारतले जवाफी हमला सुरु गरेको हो ।

बुधबार एकाबिहानै भारतले पाकिस्तानका विभिन्न नौ ठाउँमा हवाई हमला गरेको छ । सो आक्रमणमा परी ८ जनाको मृत्यु भएको र ३५ जना बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, भारतीय मिडियोले ३० जनाको बढीको मृत्यु भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्