Logo
Logo

पर्यटन विकासका लागि पूर्वाधार अपरिहार्य


पूर्णहरि अमात्य

189
Shares

नेपालको समुन्नतिका लागि पर्यटनको विकास हुनुपर्छ भन्ने कुरामा हामी एकमत छौँ । तर स्वदेशी होस् वा विदेशी पर्यटक आवतजावत गर्ने प्रमुख पर्यटकीय गन्तव्य पुग्ने सडकहरूको दुरावस्थाले सबै पीडित छन् ।

वैशाख ४ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल बुटवल–नारायणगढ निर्माणाधीन सडकको अनुगमनमा बुटवल हुँदै नारायणगढ हिँडेका दाउन्ने खण्ड छिचोल्न स्कर्टिङलाई पनि चार घण्टा लाग्यो भने सर्वसाधारण यात्रीहरूले कति सास्ती खपिरहेका होलान् भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ ।

मुलुकको विभिन्न भागमा सडकको दुरावस्थाबारे सञ्चारमाध्यमहरूले निरन्तर समाचार प्रेषित गरिरहन्छन्, तर सम्बन्धित निकायले त्यसलाई त्यति गम्भीरताका साथ नलिनाले २०७९ सालमा निर्माण सम्पन्न हुने गरी २०७५ चैतमा ठेक्का लागेकामा हाल बुटवल–नारायणगढसम्म ६३ प्रतिशत मात्र काम सम्पन्न हुनाले यात्रीहरूले अनावश्यक कष्ट सहन गर्न बाध्य छन् ।

जबकि नेपाल सरकारले नारायणगढ–बुटवल तथा पोखरा क्षेत्रलाई विकासमा प्राथमिकता दिँदै यस दिशामा अघि बढ्न विशेष ध्यान दिइने सगौरव घोषणा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले घोषणा केही समयअघि गरेका थिए । स्मरण रहोस् अर्थमन्त्री पौडेल बुटवल (रुपन्देही)बाट निर्वाचित सांसद हुन् ।

गैँडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किलोमिटर र दाउन्ने–बुटवल खण्ड ४९ किलोमिटर सडक विस्तारका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले चैत २०७५ मा १६ अर्ब ९९ करोडमा ठेक्का लिएका थियो । तर दुईपटक म्याद थपेर साउनसम्मम पु¥याइएको छ र अब बाँकी चार महिनाभित्र निर्माण सम्पन्न हुने सम्भावना विलकुलै छैन । किनकि वर्षा प्रारम्भ भइसकेकोले सडक निर्माणमा अवरोध आउने छ ।

नेपालको स्वर्णिम त्रिभुज (गोल्डेन ट्रयाङ्गल)मा रहेको पर्यटकीय गन्तव्य काठमाडौं–चितवन–लुम्बिनी सडकको मुलुक भित्रिने पर्यटकहरूले व्यापक मात्रामा प्रयोग गर्ने सर्वाधिक महत्वको राजमार्ग हो ।

उक्त सडक निर्माणमा ढिला हुनुमा निर्माण सामग्रीको अभाव, रुख कटान तथा विद्युत् पोल सार्ने ढिलाइ भनिएता पनि चिनियाँ ठेकेदार कम्पनीले ग्लोबल टेन्डरमा प्रतिस्पर्धा गर्दा ‘लो बिडि’मा ठेक्का लिँदाम घाटा हुने भनेर पटक–पटक ताकेता गर्दा पनि कामले गति नलिएपछि मन्त्रालय तहैबाट निर्माण कम्पनीको मुख्य कार्यालयमै ध्यान गराउनुपरेको सम्बद्ध अधिकारीहरू बताउँछन् ।

पृथ्वी राजमार्गको मुग्लिनको बाटो हुँदै मध्यपूर्वका साथै काकडभिट्टा मात्र होइन पूर्वी नेपालको अन्तिम जिल्ला ताप्लेजुङसम्म पुग्ने वैकल्पिक विपी राजमार्गमा गत असोजमा आएको वर्षाले क्षतविक्षत भएकोले यात्रुहरूले ठूलो सास्ती भोग्नु परिरहेको छ ।

जापान सरकारको सहयोगमा निर्मित बिपी राजमार्गले काभ्रे, सिन्धुली, रामेछाप, ओखलढुंगा, खोटाङ मात्र होइन बर्दिवास हुँदै महोत्तर, सर्लाही, धनुषा र सिरहाजस्तो बाक्लो जनघनत्व भएको जिल्लाहरूको आर्थिक तथा सामाजिक विकासमा अत्यन्त सकारात्मक प्रभाव पारेको छ ।

नेपाली मिडियाले नारायणगढ–मुग्लिन सडक राजधानीसित जोडिएकोले यो राजमार्गलाई नेपालको लाइफलाइन भन्ने गरेको छ । तर माथि उल्लेख गरिएको विकल्पको रुपमा रहेको राजधानी जोड्ने बिपी राजमार्गलाई नेपालको दोस्रो लाइफलाइन भन्न सकिन्छ ।

मध्यपहाडको कृषिजन्य उत्पादनहरू फलफूल (विशेष गरेर रामेछाप, सिन्धुलीको जुनार, सुन्तला) तरकारी तथा दुग्धजन्य पदार्थ तथा पूर्वीमध्य तराईबाट आँप, लिचीजस्ता सिजनल फलफूल वितरणमा ठूलो सहयोग पु¥याइरहेछ ।

तर, धुलिखेलबाट प्रारम्भ हुने बिपी राजमार्ग पुगन काठमाडौंबाट मात्र ३० किलोमिटर छिचोल्न कति घण्टा लाग्ने हो भगवान् भरोसे छ । किनकि एसियन हाइवेमा पर्ने उक्त राजमार्ग पुग्न अरनिको राजमार्ग छ लेनको स्तरोन्नति समयमा निर्माण सम्पन्न नहुनाले घण्टौं जाम हुने गरेको छ ।

दक्षिण एसियाको प्रदूषणमुक्त सहरको उपाधि प्राप्त (संयुक्त राष्ट्रसंघ)बाट धुलिखेल सहर र यस वरपर गुणस्तरीय पर्यटकीय रिसोर्ट) होटलमा ठूलो लगानी भएको छ र त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटक त्यहाँको स्वच्छ तथा शान्त वातावरणमा रमाउन औधी मन पराउँछन् ।

तर सूर्यविनायकदेखि छ लेनको सडक स्तरोन्नति समयमा निर्माण सम्पन्न नहुनाले हाम्रो यत्रो लगानी कसरी उठाउने होला भन्ने चिन्ता धुलिखेलको प्रिमियर होटल हिमालयनका सञ्चालक किरणप्रसाद श्रेष्ठले यस पङ्क्तिकारलाई भन्दै थिए ।

धुलिखेल स्वच्छ तथा प्रदूषणमुक्त सहर मात्र होइन, काठमाडौं विश्वविद्यालयजस्तो गुणस्तरीय शिक्षाको केन्द्र तथा धुलिखेल सामुदायिकजस्ता उत्कृष्ट स्वास्थ्य केन्द्र हुनुको साथै यस सहरसित जोडिएको गौरवपूर्ण सांस्कृतिक महत्वको पनौती सहर पुग्न पनि सूर्यविनायकको बाटो भएर नै छिचोल्नुपर्छ ।

यस क्षेत्रको पर्यटकीय सम्भावना देखेर नै होला थाइल्याण्डको प्रसिद्ध चेन होटल डुसिट थानी समूहले नमोबुद्ध नजिक लक्जरी रिसोर्ट केही समयअघि सञ्चालनमा ल्याइसकेको छ । तर बिपी राजमार्गको स्तरोन्नति समयमा सम्पन्न नहुँदा यस क्षेत्र भई यात्रा गर्नेहरूले ठूलो कष्ट भोग्नु परिरहेछ ।

केही दिनअघि रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको स्थलगत भ्रमण गरेर गृहमन्त्री रमेश लेखकले बुझे, तर त्यस क्षेत्रका बासिन्दाहरु समयमा सडक मर्मतको काम नभए कति प्राकृतिक विपत्ति पुनः भोग्नुपर्ने हो भनी यो पंक्तिकारसित चिन्ता व्यक्त गर्दै थिए ।

सन् २०२५ मा नेपालले चिनियाँ पर्यटकलाई ठूलो सङ्ख्यामा आकर्षित पर्यटन बोर्डले आक्रामक बजारीकरण थालेको छ । चीनका विभिन्न सहरमा लुम्बिनी, पोखरा तथा धुलिखेल, भक्तपुर र पनौती एउटै प्याकेजमा भ्रमण गर्ने यस्तो दुरावस्थायुक्त सडकमा सास्ती खेप्दै जाने चिनियाँ यात्रुहरूले नेपालका सम्बन्धमा कस्तो धारणा लिएर फर्किलान् भन्ने विषयमा कामी कहिले गम्भीर हुने ?

नेपालको पूर्वाधारका विषयमा चिनियाँ उपमन्त्री सुन हायानले केही समयअघि व्यक्त गरेको विचार ‘नेपालमा धेरै पर्यटक आउँछन् तर पूर्वाधारको विकास भएको छैन, एउटै पूर्वाधार र गन्तव्य भर पर्न मिल्दैन र गन्तव्यभर थप चिनियाँ पर्यटक अझै आकर्षित हुन्छन् । बिरआआइको महत्वपूर्ण अवयव ‘पिपुल टु पिपुल’ बीचको सम्बन्ध विस्तार पनि हो । पर्यटन प्रवद्र्धन र सडक पूर्वाधारमा जोड दिँदा हामी यसको विकासमा सघाउँछौँ’ भने ।

नेपालले उत्तर र दक्षिणका विशाल छिमेकीहरूसित म्यानुफ्याक्चरिङ सेक्टरमा प्रतिस्पर्धी हुन सक्दैनौँ । तर नेपालको प्राकृतिक सौन्दर्यता, विछट्टैको मौलिक संस्कृति, जैविक विधिता तथा रहनसहनबाट दशकौं अघिदेखि पर्यटकलाई नेपालले आकर्षित गरिरहेको छ । पर्यटन भनेको धुँवारहित सेवा उद्योग हो र यसको बहुआयामिक प्रभावलाई मध्यनजरमा राख्दै पर्यटकीय गन्तव्यहरूमा पुग्ने सडक पूर्वाधारको गुणस्तरमा कुनै सम्झौता नगरौँ ।

किनकि पर्यटक ठूलो खर्च र समयको व्यवस्थापन गरेर आफ्नो नेपाल भ्रमण रोमाञ्चकका साथै अविस्मरणीय अभिलाषा बोकेर आउनेलाई अमिलो मन बनाएर फर्कने मौका नदिऊँ । नेपालमा गुणस्तरीय पूर्वाधार विकास निर्माणमा पुँजी र प्रविधिको कुनै समस्या छैन– मुख्य कुरा उच्च राजनीतिक दृढ इच्छाशक्ति हुने हो भने पक्कै पनि हामीले पूर्वाधार विकासमा फड्को मार्न सक्छौँ ।

सडक पूर्वाधारको विकासले गर्दा नै हिमालीपारिका जिल्लाहरू मुस्ताङ र मनाङजस्ता विगतमा दुर्गम मानिने गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटकको लर्को लाग्न थालेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराका एक पर्यटन व्यवसायी यो पङ्क्तिकारसँग राजमार्गहरूको दुरावस्थाबारे यस्तो भन्दै थिए– ‘चार–पाँच वर्षको दौरानमा हामीले सडककै कारण धेरै पर्यटक गुमायौँ, उनीहरूले यहाँ (पोखरा) आउने सडक मार्ग ठिक छैन भन्ने थाहा पाएपछि अन्यत्र गन्तव्य बनाए ।

उत्तरको विशाल चीन र दक्षिणको त्यस्तै जनसंख्या भएको भारतीय पर्यटकलाई आकर्षित गर्न उत्तरी सीमानाका र दक्षिण सीमानाकासित जोड्ने विन्दुहरुमा कम्तिमा एसियाली मापदण्ड अनुसारको स्तरीय सडक सञ्जाल तयार गरेर दुवै छिमेकी मुलुकहरूबाट नेपालले लाखौँको सङ्ख्यामा पर्यटक आकर्षित गर्ने सम्भावना छ ।

सन् २०२५ मा १५ करोड चिनियाँ पर्यटकहरू विदेश भ्रमणमा निस्कने प्रक्षेपण चाइना टुरिजम एकेडेमीका निर्देशक याङ चिम्सोङले गरेका छन् । उनी भन्छन्, ‘तीमध्ये ८० प्रतिशत चिनियाँहरु छिमेकी गन्तव्यहरूमा पुग्ने अनुमान गरेका छन् ।

चिनियाँ तथा भारतीय पर्यटकलाई तेस्रो मुलुकको पर्यटकझैँ भिसा नेपालमा नचाहिने भएकोले यहाँ आउन निकै सरल छ र करोडौँको सङ्ख्यामा रहेका भारतीय हिन्दूहरु तथा यस्तै करोडौं सङ्ख्यामा रहेका बौद्ध धर्मावलम्बीहरू नेपालको भ्रमण गर्न साहै नै उत्साहित हुन्छन् । अतः सडक यातायात पूर्वाधार निर्माण तथा मर्मत समयमै सम्पन्न गरेर बढीभन्दा बढी सङ्ख्यामा छिमेकबाट पर्यटक आकर्षित गर्न नेपाल सरकार विशेष सक्रिय हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्