काठमाडौं। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा खटिएको नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को ११औँ डफ्फा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएको छ । टोली वैशाख २४ गते राति काठमाडौँ फर्किएको हो ।

टोलीलाई सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले वैशाख २५ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोक, स्वयम्भुमा आयोजित कार्यक्रममा स्वागत गरे ।
स्वागत समारोहमा अतिरिक्त महानिरीक्षक दाहालले द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएर जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई बधाई दिए । उनले राष्ट्रसङ्घीय मिसनमा सेवा गर्ने अवसरलाई गौरवको विषय ठहर गर्दै, मिसनमा आर्जन गरिएको ज्ञान, अनुभव र दक्षतालाई स्वदेशमै प्रेरणा र उत्साहका साथ लागू गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘शान्ति मिसनमा देखाइएको अनुशासन, आचरण, कर्तव्यनिष्ठा र व्यावसायिकताले अन्तर्राष्ट्रिय स्तरमा हाम्रो संगठन र राष्ट्रको छवि उज्यालो बनाएको छ,’ उनले भने, ‘अब स्वदेशमै पनि जनताले अपेक्षा गरेअनुसारको सेवा प्रवाह गरी उत्कृष्ट कार्यसम्पादन गर्नु जरुरी छ।’
स्वदेश फर्किएको टोलीमा १६२ जना सशस्त्र प्रहरी कर्मचारी सहभागी थिए । ११औँ डफ्फाको स्थानमा १२औँ डफ्फाको टोली वैशाख २३ गते राति दक्षिण सुडानतर्फ प्रस्थान गरिसकेको छ । उक्त स्वागत कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ, कनिष्ठ अधिकृतहरू तथा विल्लादार जवानहरूको उपस्थिति थियो ।














