
सरकारले यही वैशाख १९ गते आगामी आर्थिक वर्ष २०८२\८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक ग¥यो । यो नीति तथा कार्यक्रम सरकारको एक वर्षे यात्राको खाका मात्र होइन, बजेट निर्माणको आधारस्तम्भ पनि हो । यसले सरकार कता जान चाहन्छ भन्ने बाटो देखाउँछ । तर बाटो मात्रै सही भएर पुग्दैन । त्यो बाटोमा हिँड्ने चालक पनि सक्षम र इमानदार हुनुपर्छ ।
यो नीति तथा कार्यक्रम केवल सरकारको औपचारिकता र ‘राजनीतिक काव्य’ मात्रै होइन । यो, जनतासामु सरकारले गरेको प्रतिबद्धताको दस्ताबेज पनि हो । जहाँ देशको भविष्यका सपना र योजनाहरू चित्रित छन् । नीति तथा कार्यक्रम शब्दहरूको सौन्दर्यमा रमाउने उद्देश्यले लेखिएको होइन । यो तीन करोड नेपालीको आशा र विश्वासको प्रतिबिम्ब हो ।
यसपालिको नीति तथा कार्यक्रम पनि गुलाफको सुगन्ध जस्तै मीठा शब्दले भरिएको छ । तर, हामी भोग्दै आएका काँडाहरू अर्थात् कार्यान्वयनको अभावले फेरि चिथोर्ने हो कि भन्ने शंका कायमै छ ।
राजनीतिक प्रतिक्रियाहरू सधैँजस्तो छन्– सत्तापक्षको प्रशंसा, विपक्षको आलोचना । तर, मुख्य प्रश्न यो हो कि– यो कार्यक्रम यथार्थमा कार्यान्वयन होला ? वा यो पनि केवल राजनीतिक कविता मात्र हो ?
सरकारले संविधान संशोधन, सुशासन, डिजिटल सेवा, भूमिसुधार र उत्पादनमुखी अर्थतन्त्रजस्ता महत्वाकांक्षी योजना अघि सारेको छ । तर, पछिल्ला नौ महिनामा संविधान संशोधनबारे ठोस प्रगति हुन सकेको छैन । जनताले सुशासनको महसुस गर्न सकेका छैनन् । अर्थतन्त्रमा सुधार आउन सकेको छैन ।
यसले सरकार आफ्नो प्रतिबद्धता कत्तिको गम्भीर छ भन्ने प्रस्ट पार्छ । स्वयं सत्तारूढ दलका नेताहरूले गठबन्धन सरकारले उल्लेखनीय परिणाम दिन नसकेको स्वीकार गरिरहेका छन् । जनतामा आशा जगाउने कुनै ठोस कार्यक्रम ल्याउन सकेको छैन ।
सपनाको सौन्दर्य र कार्यान्वयनको कठोर वास्तविकता नीति तथा कार्यक्रम हरेक वर्ष नयाँ सपना बोकेर आउँछ । प्रत्येक वर्षजस्तै यसपालि पनि नीति कार्यक्रममा आत्मनिर्भर कृषि, गुणस्तरीय शिक्षा, सबैका लागि स्वास्थ्य सेवा, पूर्वाधार निर्माण, सूचना प्रविधिमा लगानी र रोजगार सिर्जनाजस्ता परिचित वाक्यहरू दोहोरिएका छन् ।
ती देख्दा लाग्छ– देश छिट्टै समृद्धिको शिखरमा पुग्नेछ । भ्रष्टाचार, बेरोजगारी, गरिबी, असमानताजस्ता समस्याहरू इतिहास बन्ने छ । तर, ती सपनाहरू कार्यान्वयनको कठोर पहाडमा ठोक्किएर चकनाचुर हुँदै आएको छ । ती वाक्यहरू वर्षौँदेखि आश्वासनमै सीमित छन्– अधुरा सपनाहरू जस्तै ।
जसरी वसन्तमा फूल फक्रन्छ र हराउँछ, त्यसैगरी नीति तथा कार्यक्रमका घोषणाहरू आउँछन्, गुन्जिन्छन् र बिलाउँछन् । कार्यान्वयनको धरातलमा उभिन नसक्दा ती केवल कागजको पानामा सीमित हुन्छन् । आकाश छुने सपना देख्नु राम्रो हो, तर ती सपना साकार पार्न धरातल बलियो हुनुपर्छ । नत्र ती केवल मृगतृष्णा साबित हुन्छन् । सरकारका नीति कार्यक्रम पनि हरेक वर्ष त्यस्तै हुने गरेको छ ।
सपना आकाश छुने भए पनि पाइला जमिनमै टेक्नुपर्छ । सरकारले देखाएको बाटो सही भएर मात्र पुग्दैन, त्यो बाटोमा दृढताका साथ हिँड्न सक्नुपर्छ । यदि कार्यान्वयनमा कमजोरी भए देश गन्तव्य पुग्न सक्दैन । देश दिशाविहीन भई भौँतारिन बाध्य हुन्छ । जसको तीतो अनुभव नेपालले विगत लामो समयदेखि गरिरहेको छ ।
सरकारको नीति तथा कार्यक्रम आफैँमा नराम्रो छैन । तर, कार्यान्वयनमा चुक्दा राम्रो योजना पनि विफल हुन्छ । कतिपय योजना आफ्ना सीमा नबुझी हौसिएर अघि बढ्दा उल्टै प्रतिकूल नतिजा निम्त्याउने गरेका उदाहरणहरू छन् । मेलम्ची खानेपानी, फास्ट–ट्र्याक वा रेलमार्गजस्ता परियोजनाहरू वर्षौँदेखि अधुरा छन्, जसले जनतामा निराशा र अविश्वास बढाएको छ ।
यस्तोमा नीति तथा कार्यक्रमलाई सार्थक बनाउन केही ठोस कदमहरू आवश्यक छन् । पहिलो, स्पष्ट कार्यान्वयन खाका, उद्देश्य, समयसीमा, र जिम्मेवारी स्पष्ट हुनुपर्छ । दोस्रो, स्थानीय तहलाई यो काव्यको सहलेखक बनाउनुपर्छ । किनकि संघीयताको सौन्दर्य तल्लो तहमा मात्र फुल्छ ।
तेस्रो, निजी क्षेत्रलाई विश्वासमा लिएर उनीहरूको रचनात्मक ऊर्जालाई नीतिमा समेट्नुपर्छ । र, सबैभन्दा महत्त्वपूर्ण कुरा अरूको पनि कुरा सुन्ने । आलोचनाले नीति तथा कार्यक्रमको कमजोरीलाई उजागर गर्छ र त्यसलाई सुधार्ने अवसर दिन्छ ।
फेरि दोहो¥याउँ, सरकारको नीति तथा कार्यक्रम एक साहित्यिक कृति हो । तर, यो केवल कागजमा सीमित भएर होइन, जनताको जीवनमा देखिने, महसुस हुने, परिवर्तन ल्याउने जीवन्त रचना बन्नुपर्छ । यसलाई कर्ममा रूपान्तरण गर्न सरकारले इच्छाशक्ति देखाउनुपर्छ । त्यत्तिबेला मात्र यो काव्य अमर बन्छ । नत्र, यो पनि अर्को अधुरो कथा बनिरहन्छ ।
कार्यक्रम नयाँ सपनाहरूको स्रोत र अधुरा सपनाहरूको दर्पण दुवै हो । नयाँ सपनाहरूले देशलाई अगाडि बढाउने सम्भावना बोक्छन् । तर, अधुरा सपनाहरूले विश्वसनीयतामा प्रश्न उठाउँछन् । सरकारले जनताको अपेक्षा र वास्तविकताबीच सन्तुलन कायम गरी कार्यान्वयनमा जोड दिएमा यी सपनाहरू साकार हुन सक्छन् ।
नीति तथा कार्यक्रम केवल शब्दहरूको माला होइन, यो आउन लागेको बजेटको जग हो । यदि, यसमा सत्य, निष्ठा र यथार्थका इँटा नहाल्ने भने त्यो संरचना हावाले ढल्नेछ । अब जनताको आँखामा धूलो हाल्ने समय सकिएको छ । ‘काम कुरो एकातिर, कुम्लो बोकी थिमितिर’ भन्ने उखानलाई चिर्दै सरकार व्यवहारिक हुनुपर्छ ।
यसर्थ, नीति तथा कार्यक्रम नयाँ सपना बोकेर आएको दस्ताबेज मात्र होइन, विगतका अधुरा सपना झल्काउने ऐना पनि हो । सरकारका लागि समय छ– जनताको विश्वास पुनः प्राप्त गर्ने । त्यसका लागि पारदर्शिता, जबाफदेहिता र जनसहभागिता अपरिहार्य हुन्छ ।
सरकारको नीति तथा कार्यक्रम समृद्धिको सपना बुनेको साहित्यिक कृति हो । यो कागजमा सीमित नभई हरेक नेपालीको जीवनमा रङ्ग भर्ने जीवन्त रचना बन्नुपर्छ । यदि यो काव्य कर्ममा बदलियो भने अमर बन्नेछ । नत्र, यो शब्दको फूलमात्र बनेर ओइलाउने छ । सरकारले कोरेको यो बाटो सही भएर मात्र पुग्दैन, चालकको इमानदारी र दृढताले नै देशलाई गन्तव्यमा पु¥याउनुपर्छ ।